गमक पोष्ट समाचारदाता

राजविराज, १५ मंसिर । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ठुला दलहरुका कारण मुलुकमा प्राप्त भएको उपलब्धीहरु गुम्ने खतरा बढेको बताउनुभएको छ । नेपाली जनता दल सप्तरीद्वारा जिल्लाको खडक नगरपालिका ११ बनौलीमा आज सोमवार आयोजित आमसभा तथा पार्टी प्रबेश कार्यक्रममा बोल्दै अध्यक्ष साहले राष्ट्रिय हित भन्दा आफ्नो सत्ता स्वार्थमा केन्द्रित हुदाँ जनतामा निराशा बढे्को बताए ।
ठुला दलहरुकै कारण मुलुकमा भ्रष्टाचार र अराजकता बढ्दै गएको आरोप लगाउदै उनले भ्रष्टाचार बिरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाएको बताए । स्थानीय तहहरुमा आर्थिक अपारदर्शिता बढ्दै गएकाले त्यसका बिरूद्व भण्डाफोर अभियानमा जुट्न उनले आव्हान समेत गरे। नेपाली जनता दलका केन्द्रीय सदस्य श्रवण चौधरीले महिलामाथि भईरहेको हिंसा, बलात्कार लगायतको घटनाको बिरोध गर्न आग्रह गर्दै बलात्कारीलाई फाँसी दिनुपर्ने माग गरे । हिमाल,पहाड र मधेशका जनतालाई जोड्दै युवाहरूलाई एकजुट हुनुपर्ने उहाँले बताए ।
सो कार्यक्रममा पार्टीका महेन्द्र प्रसाद यादवले जनप्रतिनिधिहरु जनताबाट कर असुली गरी ब्यापक भ्रष्टाचार भईरहेको बताउनुहुँदै कोरोनाको नाममा स्थानीय तहमा भईरहेको अनियमितताको भण्डाफोर गर्न सबैसँग आग्रह गरे । नेपाली जनता दलका जिल्ला अध्यक्ष बिजय चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता दलका केन्द्रीय सदस्यहरु रामबाबु रजक, रामबिलाश सदा, गंगा सदा लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका पार्टी परित्याग गरेकाहरुलाई अध्यक्ष साहले फुलमाला लगाएर पार्टी प्रबेश गरे ।