गमक पोष्ट समाचारदाता
सिरहा, १८ कात्तिक । पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप २० जनाको मृत्यु भएपछि नेपालमा मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार नाघेको छ । मङ्गलवारसम्मको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार मृत्यु हुनेको सङ्ख्या १ हजार ४ पुगेको हो ।
मङ्गलवारमात्र थप ३ हजार एक सय १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप ३ हजार १ सय ४२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिलेसम्म सङ्क्रमित १ लाख ७९ हजार ६ सय १४ मध्ये ३७ हजार ४ सय ७६ जनामा सक्रिय सङ्क्रमण छ । कुल १ लाख ४१ हजार १ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन् ।
गएको २४ घण्टामा ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको थियो । मृत्यु हुनेहरूमा ३ सय ८० जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन् ।
मृतकहरूमा बागमती प्रदेशका ५ सय ३ जना, प्रदेश नं २ का १ सय ५९ जना, लुम्बिनी प्रदेशका १ सय ३८ जना र प्रदेश नं १ का १सय १९ जना रहेका छन् ।
त्यसैगरी, गण्डकी प्रदेशमा ५५ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।