गमक पोष्ट समाचारदाता


सिरहा, ५ कात्तिक । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार विकासलाई थप तीब्रता दिई जिल्लाको कायापलट गर्ने उद्घोष गरेका छन् ।
आफ्नै जन्म गाउँ सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वामा बुधबार दिउँसो आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जिल्लाको पूर्वाधार विकासलाई थप गतिदिने बताएका हुन् ।
उनले सडक सञ्जाल बिस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन, आवास कार्यक्रमलाई तीब्र रुपले अगाडि बढाउँदै जिल्लाको अवस्था कायापलट गर्ने बताएका जिकिर गरे । त्यसका लागि लगडीगदियानी गोलबजार सडक, मिर्चैया सोलु सडक, चोहर्वादेखि भारतीय सीमासम्म जोड्ने सडकको बजेट विनियोजन भई टेण्डरको प्रकृयामा रहेको उनले बताए ।
‘त्यसबाहेक गोलबजार, सिरहा, नरहा, विष्णपुर र अर्नमामा दलितहरुको सघन बसोेवास रहेको गाउँमा सामुदायिक भवन निर्माण, भूमिहीनका लागि आवास कार्यक्रम पनि छन्’ उनले भने ‘धनगढी, सुखीपुर, चोहर्वा र विष्णुपुरमा १५÷१५ शैय्याको अस्पतालका लागि समेत बजेट विनियोजन गरी काम अगाडि बढिसकेको छ ।’ चोहर्वा अस्पतालका लागि जग्गादाताहरुले जग्गा समेत दिइसकेको उल्लेख गर्दै उनले दशैंको अवधिमै अस्पतालको शिलान्यास गरी निर्माण प्रकृया थालिने बताए ।
मन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आएका मन्त्री श्रेष्ठलाई जिल्लाको वन्दिपुर, मिर्चैया, चोहर्वा लगाएको ठाउँहरुमा स्वागत तथा सम्मान गरेका थिए । काठमाडौंदेखि हवाईमार्गबट जनकपुर आएका मन्त्री श्रेष्ठको स्वागतका लागि ठूलै समूह जनकपुर पुगेका थिए ।