गमक पोष्ट समाचारदाता
काठमाडौं, ४ कात्तिक । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराई दिएको छ । केन्द्रीय समितिको अध्यक्षमा भने महन्थ ठाकुर र उपेन्द्र यादव रहने जसपाले जनाएको छ ।
बैठकले डाक्टर भट्टराईले नेतृत्व गर्ने सङ्घीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि पारित गरेको छ । बैठकले सङघीय सांसद रेशम चौधरी रिहाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने बाँकी निर्णयका लागि पाँच जना शीर्ष नेतालाई अधिकार दिइएको जसपाका नेता विश्वदीप पाण्डेले जनाए । पाँच शीर्ष नेतामा डाक्टर बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेका छन् ।