गमक पोष्ट समाचारदाता

सप्तरी, २७ असोज । सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीकी दायमनदेवीको हत्या आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।
गत असोज १० गते मैनाकडेरी निवासी शिक्षक शिबनारायण यादवकी ५० बर्षीया दायमनदेवीको हत्या भएको थियो । हत्या भएको १६ पछि उहाँको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सप्तरीको तिरहुत गाउँपालिका २ निवासी २१ बर्षीय अजय कुमार यादव, ५२ बर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका ११ ठेलिया निवासी ५५ बर्षीय बमबहादुर साहलाई पक्राउ गरेको हो । तीनै जना मिलेर दायमनको हत्या गरेको प्रहरीको भनाई छ । तीन जना मध्ये साहले दायमनदेवीलाई भुईमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका तीनै जनाले अपराध स्विकारेको प्रहरीको भनाई छ ।
प्रहरीको अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मृतक दायमनदेवीकी देवरानीसँग ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दायमनदेवीले थाहा पाएपछि रिसिईबी राखेर हत्याको योजना बनाएको खुलेको छ ।