गामक पोष्ट समाचारदाता

सप्तरी, २६ असोज । स्थानीय प्रशासनले सप्तरीको बोदे बसाईन नगरपालिका ५ बर्साइन बजारस्थित जिवन दिप पोलिक्लिनिक हस्पिटल प्रालिका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन पत्र काटेको छ ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्व खटिएको संयुक्त अनुगमन टोलीले बिना अनुमति अबैध रुपमा अस्पताल सञ्चालन गरी जनस्वास्थ्यसँग खेलवाड गरेको भन्दै हस्पिटलका सञ्चालकलाई कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र काटेको हो ।
सम्बन्धित निकायबाट अनुमति नलिएको, बिशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असली गर्ने गरेको लगायतका जनगुनासो पश्चात अनुगमन टोलीले सो हस्पिटलको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा हस्पिटल सञ्चालकले तत्काल दत्र्ता प्रमाणपत्र, हस्पिटलमा कार्यरत चिकित्सकहरुको शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका कागजातहरु देखाउन नसकेकाले आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा २४ घण्टाभित्र उपस्थित हुन पत्र काटिएको सहायक प्रजिअ घिमिरेले जानकारी दिए ।
यस्तै अनुगमन टोलीले बोदे बर्साइन बजारस्थित बिभिन्न पसलबाट म्याद गुज्रेको सुजी २५ किलो, बिस्कुट १६ काटुन, चिसो पेय पदार्थ बरामद गरी जलाएर नष्ट गरेको बताइएको छ ।
अधिकांश पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ लगायतमा ध्यान नदिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जाए ।
सप्तरी उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीलाई देखेपछि धेरै पसलहरु बन्द गरी भागेका थिए ।