गामक पोष्ट समाचारदाता
सप्तरी, २३ असोज । बिजया दशमी नजिकैसँगै सप्तरीमा बजार अनुगमन तिब्र पारिएको छ । कोरोना संक्रमणका बीचमा संयुक्त अनुगमन टोलीले बजार अनुगमन तिब्र पारेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको समन्वयमा संयुक्त अनुगमन टोलीले सदरमुकाम राजबिराजमा बजार अनुगमन शुरु गरेपछि व्यापारीहरुमा हडकम्प मचेको छ ।
अनुगमन क्रममा पसलहरुमा उपभोक्ताले प्रष्ट हेर्ने गरि मूल्य सूची र साईनबोर्ड राखिएको नपाइएको तथा म्याद गुज्रिएका सामग्रीहरु पसलेहरुले राखेको पाइएको छ ।
अनुगमनको क्रममा संयुक्त बजार अनुगन टोलीले राजविराज नगरको मुख्य बजारबाटै बिक्रीको लागी तयारी अवस्थामा राखेको म्याद गुज्रिएको तीन दर्जन बियर बोतल बरामद गरेको छ ।
नगरको जनआन्दोलन चोक स्थित माँ दुर्गे ट्रेडर्सबाट तीन दर्जन म्याद गुज्रिएको बियर बरामद गरी पसल अगाडी नै नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।
माँ दुर्गे ट्रेडर्सबाट टुबोर्ग कम्पनीको बियर सात बोतल, किग्सफिसर कम्पनीका १३ बोतल, टुबोर्ग कम्पनीको क्यान आठ वटा म्याद सकिएको अनुगमन टोलीले बरामद गरेर नष्ट गरेको छ । ट्रेडर्समा बिक्रीको लागि फ्रिजमा राखिएको अवस्थामा बियर बरामद गरेको अनुगमन टोलीका सदस्य उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता बताए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले उक्त सामान बरामद गरेर नष्ट गरेको हो । टोलीले कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज नगरका पसलहरुको अनुगमन तीब्र पारेको प्रमुख सिंहको भनाई छ । त्यस्तै नगरभित्रको पुजा किराना स्टोर्समा कसमिरी मिर्च २१ पोका, मसला १० पोका, नूर फ्रुट एण्ड जेनरल स्टोरमा १० पोका गुहुँको पिठो म्याद गुज्रिएको अवस्थामा बरामद गरी जलाएर नष्ट गरेको बताइएको छ । नागमणी किराना पसल, लाल ट्रेडर्स, इब्राहम स्टोर्स, हक जनरल स्टोर्स, कोकाइ साह गोपाल साह ट्रेडर्स लगायत एक दर्जन पसलहरुमा अनुगमन गरेको छ ।
अधिकांश पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ लगायतमा ध्यान नदिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सिंहले बताउनुभयो । बजार अनुगमनका क्रममा मूल्य सूची र साइन बोर्ड नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको सिंहको कथन छ ।
अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनको कथन छ । सप्तरी उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीलाई देखेपछि धेरै पसलहरु बन्द गरी भागेको पाइएको छ ।