सिरहा, १८ असोज । सिरहाको बिष्णुपुर गाउँपालीका १ मा किशोरी बलात्कार घटना गाउँमै मिलाउने पञ्च र पीडकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँकै १६ वर्षिय किशोरीलाई बलात्कारमा गर्ने २० वर्षिय मुकेश कुमार साह सहित घटनालाई गाउँमै मिलाउने स्थानीय ९ लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाँच–पाँच लाखको दुईथान कपाली कागज गराई गाउँमै घटना मिलाउनेहरु ५२ वर्षिय सिंहेश्वर साह, २२ वर्षिय अरविन्द कुमार साह, ४५ वर्षिय शत्रुधन साह, ४७ को राज कुमार साह, ४२ वर्षिय राम उदगार यादव, ६१ व्र्षिय जगविर यादव, ४८ वर्षिय राज कुमार यादव, ३५ वर्षिय रौदि भन्ने श्याम सुन्दर यादव लाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलई मतियारको रुपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी शालिग्राम पौडेलले जानकारी दिए ।
गाउँमै घटना मिलाउन पीडकको आफन्तसं रामगुलाम यादवव र लक्षुमण यादवलाई धनी बनाई कागज गरेको र कागज राख्ने जगवीर यादवलाई पनी प्रहरीले नियन्त्रणमा लिएको छ । दुबैजनालाई धनी बनाई ५÷५ लाखको दुईवटा कागज बनाएको प्रहरीले जनाएको छ । प्रहरीले काजग पनि नियमानुसार बरामद गरिएको बताए ।
गत असोज १२ गते बेलुका मुकेशले छिमेकी किशोरीमाथि जवरजस्ती करणी गरेका थिए । घटना थाहापाउने वित्तिकै किशोरीको दाईले मुकेशलाई कुटपीट गरेका थिए । कुटपीटबाट घाइते मुकेशको स्थानीय स्तरमा उपचार पश्चात थप उपचारको लागि विराटनगर लगिएको थियो । विराटनगरबाट १६ गते फर्केकैदिन गाउँमा पञ्चायत बसेर मिलापत्र गरेको बताइएको छ ।
गाउँमै घटना मिलाएको भएपनि समयमा पीडक परीवारले जरीवाना रकम तिर्न आनाकानी गरेपछि घटना सार्वजनिक भएको बुझिएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताए । पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक कार्वाही गरिरहेको जनाएको छ ।