कठमाडौं, १७ असोज । हुम्लामा एक महिलालाई दिसा खुवाएर गाउँनिकाला गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । परपुरुषसँग लागेको आरोपमा हुम्लाको सिमकोट गाउँपालिकाकी २३ वर्षीय महिलालाई उनका श्रीमान्सहित गाउँका मानिसहरूले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको हो ।
“शुक्रवार बिहान ८ बजेबाट ती महिला र उनीसँग सम्बन्ध भएको भनिएका व्यक्तिलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नजाउन्जेलसम्म दुर्व्यवहार गरिएको र दिसा समेत खुवाइएको पाइएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
घटनास्थल पुगेका प्रहरीले उनका श्रीमान् सहित ७ जनालाई पक्राउ गरिएको हो ।
पीडित महिलाले आफूलाई पर पुरुषसँग लागेको आरोप लगाउँदै दिसा खुवाएर कपाल खौरनुका साथै कालो मोसो दलेर जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको बताएकी छन् ।
गाउँलेले खबर गरेपछि हुम्ला प्रहरी घटनास्थल पुगेर दुर्व्यवहारमा परेका व्यक्तिको उद्धार गरेको र घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।