सिरहा, १५ असोज । महिनावारीको समयमा पनि किशोरीहरु नियमित विद्यालय आउने वातावरण बनाउने उद्देश्यले धनगढीमाई नगरपालिकाले नगरक्षेत्रभित्रका विद्यालयहारुलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । ‘मर्यादित महिनावारी, हामी सवैको जिम्मेवारी’ भन्ने नारा सहित नगरक्षेत्रका १३ वटा विद्यालयलाई ११ हजार ९ सय ४ प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् ।
महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने, आएपनि पढाईमा कम रुचि देखाउने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सेनिटरी प्याड विद्यालयलाई हस्तान्तरण गरिएको नगरप्रमुख हरिनारायण चौधरीले वताए ।
हस्तान्तणको क्रममा नगरप्रमुख चौधरीले यो समाग्री प्रयोगमा अझै जटिलता रहेको बताउँदै सम्वनिधत शिक्षकले छात्राहरुसँग नजीकको सम्वन्ध राख्नुपर्ने बताए । उनलेभने, ‘महिनावारी महिलाहरुमा हुने नियमित प्रकृया हो, तर किशोरअवस्थामा यसले छात्राहरुमा एकखालको लाजमान्ने चलन अझै छ, त्यसैले यसको उचित प्रयोग र व्यवस्थापनमा फोकल शिक्षकले विशेष ध्यान दिनुपर्ने बताए ।’
कतिपय अवस्थामा शिक्षका र छात्राहरुविचतको तारतम्मे नमिल्दा दराजमै सेनेटरी प्याडमा धमिरा लागेको मैले सुनेको छु,’ चौधरीले भने, ‘हाम्रो नगरका शिक्षिका र छात्राहरुमा त्यस्तो समस्या नहोला भन्ने विश्वास मैले गरेको छु, यसको उचित प्रयोग र प्रयोग पछिको व्यवस्थापन पनि राम्रो हुने छ भन्ने आशा गरेको छु ।’
विद्यालयमा छात्राहरुको संख्याको आधारमा ७ माध्यमिक विद्यालय र ५ वटा आधारभूत विद्यालयलाई ३ कार्टुनदेखि ७ कार्टुनसम्म सो सामाग्री हस्तान्तरण गरिएको नगर शिक्षा शाखा प्रमुख बुद्धिमान दनुवारले जानाए । एक कार्टुनमा झण्डै एक हजार ६ सय थान सेनिटरी प्याड रहेको जनाइएको छ ।
सालाखाला ७ कक्षाबाट छात्राहरुमा महिनावारी शुरु हुने आकलनको आधारमा नगर क्षेत्रका ३३ वटा सामुदायिक विद्यालयमध्ये ८ कक्षा देखि माथि पठनपाठन हुने विद्यालयमा सेनिटरी प्याड वितरण गरिएका हुन् ।
नगरबाट हस्तान्तरित सेनिटरी प्याड वितरण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक विद्यालयमा फोकल शिक्षिका तोकिएको छ । उनलेनै उमेर पुगेका छात्राहरुलाई पहिला १ प्याकेटका दरले र पछि आवश्यकता अनुसार वितरण गर्ने बताए । नगरमा अझै सेनिटरी प्याडहरु मौज्दात रहेकोले खपतको आधारमा माग गर्ने विद्यालयलाई जुनसुकै बेला सेनिटरी प्याड थप हस्तान्तरण गरिने नगर शिक्षा अधिकृत प्रदिप साहले जानकारी दिए ।
क्याप्सन ः सिरहाको धनगढीमाई नगरपालीकाले नगरक्षेत्रका १२ वटा विद्यालयका किशोरी समूह तथा फोकल शिक्षकलाई शिक्षा शाखामै बोलाएर सेनेटरी प्याड हस्तान्तरण गर्दै नगर प्रमुख हरीनारायण चौधरी ।
फोटो ः आशिष विश्वकर्मा, सिरहा