काठमाडौं, ११ असोज । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग नागरिक अगुवाहरुले अपिल गरेका छन् । विभिन्न क्षेत्रका २३ जना नागरिक अगुवाहरुले संयुक्त अपिलमार्फत डा. केसीको जीवन रक्षाको माग गरेका हुन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै गत १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रदै गाएको भन्दै कुनै पनि बेला परिस्थिति गम्भीर बन्न सक्नेभएकाले उनीहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । अपिलमार्फत उनीहरुले यसअघि डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
जुम्लामा अनसनरत डा. केसीलाई काठमाडांै ल्याएको एक हप्ता भइसक्दा पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको उनीहरुव्दारा जारी अपिलमा उल्लेख गरिएको छ ।
अपिलगर्नेहरुमा पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमा, कानुनविद् शम्भु थापा, भीमार्जुन आचार्यलगायतले संयुक्त अपिल निकालेर डा. केसीको जीवन रक्षा गर्न र उनले उठाएको माँग पूरा गर्न सरकारसँग अपील गरेका हुन् ।