काठमाडौं, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा छठपनि सञ्चालन गर्ने तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले रोकिएका परीक्षा छठपछि सञ्चालन गर्नेगरी तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठपछि गर्ने गरी दशैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचार समेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएको छ ।
परिस्थिति सुधारभए छठ पछि परीक्षा लिने गरी तयारी भईरहेको भन्दै स्थिति अहिलेको भन्दा जटिल भयो भने फेरि पनि परीक्षाको समयतालिका तलमाथि हुन सक्ने बताइएको छ ।
त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने छ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने छन् । त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।