सिरहा, ७ असोज । सिरहाको धनगढीमाई नपा ९ मा प्रदेश नं. २ कै आधुनिक राईमिल सञ्चालनमा आउने भएको छ । कौशल एग्रो राइस मिल प्रा.लि. का सञ्चालक महेश साहले आधुनिक प्रविधिको प्रयोगबाट प्रदेश २ कै नमुना राइमिल सञ्चालन गर्न लागेका हुन् ।
अत्याधुनिक प्रविधिमा आधारीत राइस मिलले दैनिक ५० टन भन्दा बढी पूर्ण उसिना चामल उत्पादन क्षमता रहेको सञ्चालक साहले जनाए । उनलेभने, ‘अहिले सम्म यो प्रविधिको मिल प्रदेश नं. २ मा छैन, हामीले पहिलो पटक सञ्चालनमा ल्याउँदै छौं ।’ साहले आफूले हरेक प्रकारले प्रदेशकै नमुना चामल उद्योग निर्माण गर्न लागेको पनि सुनाए ।
साहले करिव ४० करोडको लगानीमा उद्योगको निर्माण सम्पन्न हुने जनाए । कोभिड १९ का कारण केही ढिलो भएपनि आउँदै गरेको लक्ष्मी पुजा (कार्तिक) बाट सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तिव्रता दिइएको सञ्चालक साहले बताए । उनलेभने, ‘कोभिड १९ का कारण भवन लगाएतका पूर्वाधार निर्माण केही समयलाई ठप्प भएको भएपनि अहिले आवश्यक जनशक्ति परिचालन गरिएको छ, समयमै निर्माण कार्य सम्पन्न हुन्छ ।’
धान उसिन्ने ब्वाईल मेसिनमा हालेपछि एकैपटक चामल निस्कने प्रविधि जडान भएको प्रविधि रहेको सञ्चालक साहले सुनाए । उनलेभने, ‘यो प्रविधिमा धान उसिन्ने, सुकाउने अनि फेरी हालरमा हाल्ने प्रीवधि होइन, सिधै ब्वाईल मेसिनमा हालेपछि, चामल भएर निस्कने हो ।’
उद्योगको सपूर्ण पार्टपूर्जाहरु आईसकेको र केही आउँदै गरेकोले पूर्वाधार निर्माणको काम सक्ने वित्तिकै मिल सञ्चालनमा आउने बताइएको छ ।
मिल स्थापनाले यस क्षेत्रका दक्ष तथा अदक्ष सहित सयौं व्यक्तिले रोजगारी पाउने समेत साहले बताए । उनलेभने, ‘यो उद्योग कृषिसँग प्रत्यक्ष जोडिएको उद्योगहो, हामी किसानको उत्पादनको खपत त गछौं नै, त्यसको साथै यो उद्योगमा विभिन्न खालका एक सय जनाभन्दा बढीले काम पनि पाउने छन् ।’