काठमाडौं, ५ असोज । आफ्नो समयका सर्वाधिक चर्चित सगरमाथा आरोही आङरिता शेर्पाको सोमवार काठमाडौंमा निधन भएको छ।

उनले सर्वोच्च शिखर सगरमाथा बिना अक्सिजन दश पटक आरोहण गरेका थिए।

उनले बनाएका कीर्तिमानका कारण पर्वतारोहण जगतले हिउँ चितुवाको उपनाम दिएको थिए।

दुई दशक अघि कलेजो सम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्यागेका उनलाई साढे चारवर्ष अघि मस्तिष्क सम्बन्धी समस्या देखा परेको थियो।

आङरिताको निधनले नेपालले पर्वतारोहण क्षेत्रका एक जना चम्किला नक्षत्र गुमाएको उनलाई नजिकबाट चिन्ने पर्वतारोहण क्षेत्रका अग्रणी व्यक्तित्वहरूले बताएका छन्।

बिहानसम्म स्वास्थ्य अवस्था सामान्य नै रहेपनि एक्कासी टाउको दुखेको र त्यसपछि ७२ वर्षका शेर्पाको निधन भएको उनको परिवारलाई भेटेपछि नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ्छिरिङ शेर्पाले बताए।
उनीप्रति अन्तिम सम्मान व्यक्त गर्न आङरिताको शवलाई दुई दिन बौद्धस्थित टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र त्यसपछि बुधवार दाहसंस्कार गरिने बताइएको छ।