सिरहा, २० भदौ । सिराहाको गोलबजार नगरपालिकाले कोभिड १९ महामारीको सम्भावित जोखिमलाई मध्यजर गर्दै नगरकै लगानीमा ‘कोराना अस्पताल तथा आइसोलेसन’ भवन निर्माण थालेको छ । कोरोना संक्रमितहरुले कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टर अभावमा समस्या झेल्नुपरेको गुनासो बढेपछि नगरपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माण गर्न लागेको हो ।

कोगोलबजार नगरपालिका– ४ चोहर्वामा नगरप्रमुख देवनाथ साह, उपप्रमुख रेशमकुमारी थापाले ५० शैयाको कोरोना अस्पतालको शिलान्यास गरेका हुन् । आर्थिक वर्ष ०७७÷७८ को विकास बजेटबाट कटौती गरी कोरोना अस्पताल र आइसोलेसन सेन्टर निर्माण थालेको नगर प्रमुख देवनाथ साहले बताए । ‘आज शिल्यान्यास भयो, अवको एक महिनाभित्र अस्पताल र सेन्टर निर्माण गरी सञ्चालन गरिनेगरी हामीले काम अगाडी बढाएकाछँौ,’ मेयर साहले भने । उनले थपे, ‘ तत्काल ९१ लाख रकम छुट्याइएको छ, त्यसका लागि बजेट अपुग भए नगर कार्यपालिकाले स्रोत खोजी गरी तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।’

गोलबजार नपा ७ का वडा अध्यक्ष जगद श्रेष्ठले यो कोरोना अस्पताल भनिएपनि भविष्यको ट्रमा सेन्टरको जग भएको बताए । उनले तत्काललाई महामारीले यसको निर्माण प्रकृया अगाडी बढाएको भएपनि यसलाईनै ट्रमा सेन्टरमा रुपान्तरण गर्ने जनाए पूर्वप्रशासक तथा यसै नगरपालीका ८ का ललितबहादुर थापाले ट्रमा सेन्टर निर्माणको लागि दिएको एक बिघा जग्गामा अस्पताल र आइसोलेसन सेन्टरको शिलान्यास गरिएको हो । थापाले करिब १० वर्षअघि जग्गा दान गरेका थिए ।