काठमाडौं, ६ कात्तिक। वेब प्रविधि ‘पीएचपी’मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्र बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति केन्द्रीय बैंकले क्षमायाचना गरेको छ।
सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी प्राप्त गर्न बैंकका आधिकारिक सामाजिक सञ्जालका पेजहरू प्रयोग गर्न आग्रह गरिएको छ।
वित्तीय संस्थाहरूलाई पनि सुरक्षा सतर्कता अपनाउन अपिल
राष्ट्र बैंकले प्रविधिमा देखिएको जोखिमलाई गम्भीर रूपमा लिँदै बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण (रेमिटेन्स) कम्पनीहरूलाई पनि उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
साथै, सर्भरमा प्रयोग भइरहेका प्रणालीहरूको क्षमता अभिवृद्धि (सबलीकरण) गर्न र नियमित रूपमा सुरक्षा निगरानी (सिक्युरिटी अडिट र मोनिटरिङ) बढाउन सम्बन्धित सबै संस्थाहरूलाई निर्देशन दिइएको छ।
राष्ट्र बैंकले २०८३ कात्तिक ६ गते जारी गरेको सूचनामार्फत सुरक्षा जोखिमप्रति सचेत रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ।
























