सिरहा, ९ कात्तिक। साउन १४ गते सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा गोलबजार नगरपालिका ११ वलकाबाका वडा अध्यक्ष सोहेव अनवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटना निम्त्याउनुमा वडा अध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएको आधारमा प्रहरीले वडाअध्यक्ष अनवरलाई नियन्त्रणमा लिएको हो। सोही जाहेरीका आधारमा प्रहरीले अनवरविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ।

प्रहरीका अनुसार अनवर कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। घर आए पनि प्रहरीबाट बच्दै लुक्ने गरेको सूचनाका आधारमा उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको शुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।