अन्ततः वामदेव राष्ट्रियसभामा जाने नै भए
काठमाडौं, १८ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई अन्ततः राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । उनलाई प्रतिनिधीसभामा पुर्याउन विभिन्न योजना बनाएपनि विफल भएपछि उनलाई नेकपाले राष्ट्रिय सभामा पठाउन लागेको हो ।
नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो । खतिवडाको विषयमा भने अहिले कुनै निर्णय भईनसकेको बताइएको छ ।
सचिवालयको बिहीबारको बैठकमा नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको नेताहरुले बताएाक छन् ।