बर्दिवास, १३ भदौ । महोत्तरीको बर्दिवास नगरपालीकाले आफ्नै लगानीमा मेसिन खरिदगरी पीसीआर परीक्षण सुरु गरेको छ । नगरपालिकाको सवा करोड लगानीमा मेसिन खरिद गरेपछि शुक्रबारबाट बर्दिवास अस्पतालमा पीसीआर परीक्षण हुन लागेको हो ।
बर्दिवास अस्पतालको नयाँ तीनतले भवनमा मेसिन जडानगरी काम सुरु गरिएको मेयर विदुर कार्कीले जानकारी दिए ।
शुक्रबार अस्पतालमा १० जनाको स्वाब संकलन गरी परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । दैनिक ९ सय स्वाब नमुना परीक्षण गर्ने क्षमता भए पनि पर्याप्त जनशक्ति नभएकाले तत्काललाई दैनिक दुई देखि तीनसय नमुनासम्मको रिपोर्ट दिन सकिने मेडिकल माइक्रो बायोलोजिस्ट अनिलकुमार साहले जानकारी दिए ।
अस्पतालको ल्याबमा अहिले दुई जना बीएमएलटी मात्रै रहेकाले तीन जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेन्ट थप आवश्यक रहेको बीएमएलटी मनोज मिश्रले जानकारी दिए ।
बर्दिवास नगरपालिकाभित्र पहिलो चरणमा कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको र पछि ‘एक घर एक व्यक्ति’ का दरले परीक्षण गर्ने योजना रहेको मेयर कार्कीले बताए । कोरोना सकिएपछि पनि पीसीआर मेसिनबाट अन्य धेरै रोगको जाँच गर्न सकिने भन्दै उनले बर्दिवास अस्पताललाई विशेषज्ञ सेवासहित सुविधासम्पन्न अस्पताल बनाइने जनाए ।
अगत असारमा उद्घाटन गरिएको १५ शय्याको अस्पताललाई अहिले ५० शय्याको बनाएर सञ्चालनमा ल्याइएको छ । पर्याप्त भौतिक संरचना रहेकाले तत्काललाई बर्दिवास अस्पताललाई कोभिड अस्पताल बनाएर काम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।