रौतहट, २९ असोज। सर्लाही प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी बागमती नगरपालिका १ का एक व्यक्ति पेस्तोल र गोलीसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागमती नगरपालिका १ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्। उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको साथबाट अमेरिकामा निर्मित भनिएको  ‘मेड इन युएस’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ।

कर्तव्य ज्यानजस्तो गम्भीर अपराधको मुद्दामा फरार रहेका थापा हातहतियार तथा गोलीसहित पक्राउ परेपछि प्रहरीले घटनालाई थप अनुसन्धानको दायरामा अघि बढाएको छ।

पक्राउ परेका थापालाई बरामद हातहतियार तथा गोलीसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले थापा कर्तव्य ज्यान मुद्दामा कुन घटनामा संलग्न रहेको आरोपमा फरार थिए भन्ने विषयमा भने थप विवरण सार्वजनिक गरेको छैन।