गोलबजार, १३ मंसिर। सिराहाको गोलबजारस्थित उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारीहरूको शपथ तथा पदभार ग्रहण समारोहमा मर्यादाक्रम मिचिएको भन्दै मधेश प्रदेश सभा सदस्य साहिदा खातुनले आपत्ति जनाएकी छिन्। सातौँ साधारणसभाअन्तर्गत ४ मंसिरमा सम्पन्न संघको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको आइतबार गोलबजारमा आयोजित शपथ तथा पदभार ग्रहण समारोहमा प्रमाणपत्र वितरणको क्रममा आफूलाई मर्यादाक्रम अनुसार नगर प्रमुखभन्दा तल राखिएको भन्दै कार्यक्रमस्थलमै आपत्ति जनाएकी हुन्। 

समारोहमा गोलबजारका नगर प्रमुख श्यामकुमार श्रेष्ठलगायत अन्य अतिथिहरुभन्दा तल राखेर प्रमाणपत्र वितरण गर्न लगाइएको भन्दै उनले आपत्ति जनाइन्।

बहालवाला प्रदेश सभा सदस्यको मर्यादाक्रम र सम्मानलाई उपेक्षा गरिएको भन्दै उनले आयोजकलाई प्रश्न गरिन्, ‘कसको के मर्यादा हुन्छ भन्ने कुराको ख्याल गर्नुपर्दैन? ‘पदीय मर्यादाको ख्याल नै नगरी महिलाले महिलालाई र पुरुषले पुरुषलाई प्रमाणपत्र वितरण गर्ने कस्तो कार्यक्रम हो?’ उनले आयोजकले पदीय मर्यादाको ख्याल गर्नुपर्ने बताउँदै आफूलाई नगर प्रमुखभन्दा तल राखेर प्रमाणपत्र वितरण गर्न लगाइएकोप्रति आपत्ति जनाए पनि एक महिला नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेकी थिइन्।

संघका नवनिर्वाचित पदाधिकारीहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश संयोजक तथा पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ, नेपाली कांग्रेसका सिराहा जिल्ला सभापति रामचन्द्र यादव, उद्योग व्यापार संघ मधेश प्रदेशका अध्यक्ष विजयकुमार साहलगायतकाको उपस्थिति थियो।

१६ वैशाख ०७६ मा नेपाल राजपत्रमा प्रकाशित संघीय गृह मन्त्रालयको सूचनाअनुसार ११औँ वरीयाताक्रममा रहेकी प्रदेश सांसदभन्दा प्रमाणपत्र वितरण गर्दा १५औँ वरीयतामा रहेका नगर प्रमुखलाई अगाडि बोलाइएको भन्दै उनको आक्रोश थियो।