काठमाडौं, ११ मंसिर। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा खटाएको छ।
मन्त्रालयको यो निर्णयसँगै अब विशेषज्ञ स्वास्थ्य उपचारका लागि काठमाडौँ तथा देशका ठुला सहर धाउनुपर्ने नागरिकको बाध्यता क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार खटाइएका चिकित्सकहरूमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २०८ जना रहेका छन्। यस्तै, कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३ र गण्डकी प्रदेशमा १२९ जना विशेषज्ञ चिकित्सक खटाइएका छन्। त्यसैगरी मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
खटाइएका कुल चिकित्सकमध्ये ५११ जनालाई प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहने गरी र बाँकी ३२७ जनालाई सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा खटाइएको छ। सङ्घीय सरकारबाट प्रदेशमा खटाइएका यी चिकित्सकहरूलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा समेत परिचालन गरी सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन सक्ने व्यवस्था मिलाइएको छ।
विशेषज्ञ चिकित्सकहरूको परिचालनसँगै एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवाहरू सुदृढ हुनेछन्। यसबाट ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले आफ्नै प्रदेशमा सुरक्षित सुत्केरी सेवा, जटिल शल्यक्रिया तथा गुणस्तरीय आकस्मिक उपचार पाउने विश्वास लिइएको छ।






















