काठमाडौं, १० मंसिर। नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माँग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। पहिलो चरणको आन्दोलनपछि पनि सरकारले माँग सम्बोधन नगरेको भन्दै महासङ्घले राजनीतिक दलहरूलाई दबाव दिन नयाँ कार्यक्रम सार्वजनिक गरेको हो।

घोषित कार्यक्रमअनुसार मङ्सिर १३ गतेदेखि १८ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिइनेछ। कुनै दलले लिखित ऐक्यबद्धता जनाएमा भने सम्बन्धित दलको कार्यालयको धर्ना कार्यक्रम फिर्ता लिने महासङ्घले जनाएको छ।

त्यस्तै मङ्सिर २० गते काठमाडौंको माइतीघरसहित देशभरका जिल्ला सदरमुकामहरूमा कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिनेछ।

समाचार कक्षमा प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रणका प्रयास, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइएको विरोधमा महासङ्घ आन्दोलित बनेको हो।

924429505_3506943029477799_4697320791695225533_n