लहान, २८ असोज। सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रतिवन्धित लागु औषध गाँजा मुद्दाका फरार प्रतिवादी सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ४७ वर्षिय मोहम्द साबीर अलीलाई आज विहान पक्राउ गरेको हो।
उनी राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सुरङ्गा नगरपालिकाका नगरसभापति हुन्। उनलाई आज विहान ११ बजे रास्वपा सुरङ्गा नगरपालिकाका पार्टी कार्यालय कदमहाबाट पक्राउ गरेको सप्तरीको भेडीया इलाका प्रहरी कार्यालयको सहयोगमा इलाका प्रहरीले लहानले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै दक्षिण जानलागेको बा.८ च ९९६३ नम्बरको गाँजा बोकेको कारलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि कार छोडेर भागेपछि खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
सोही घटनासम्बन्धी लागूऔषध मुद्दामा हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ।






















