जनताको पैसा जनताकै हकहितमा खर्च गर्ने उद्देश्यले गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर

गोलबजार, २६ असोज। सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जनताको पैसा जनताकै हकहित र सेवामा खर्च गर्ने उद्देश्यले गोलबजार नगरपालिका २ को आयोजनामा तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, फिजियोथेरापी सेवा, जनरल मेडिसिनलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो। साथै, बिरामीलाई निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।

निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन आएका स्थानीय नागरिकले आर्थिक अभावका कारण लामो समयदेखि उपचार गराउन नसकेको र शिविरबाट राहत मिलेको बताएका छन्।

स्थानीय पवन सदायले आर्थिक अभावका कारण वर्षौंदेखि स्वास्थ्य समस्या सहेर बस्नुपरेको बताइन्। ‘मैले गरिबीका कारण करिब तीन–चार वर्षदेखि ढाड, कम्मर, घाँटी र खुट्टा दुख्ने समस्याको उपचार गराउन सकेको थिइँन। निजी अस्पतालमा जाँदा धेरै पैसा माग्छन्। आफूसँग पैसा छैन, कसरी उपचार गराउनु? सामान्य स्वास्थ्य शिविरले मात्रै पुग्दैन, ठूला शिविर ल्याएर जनतालाई सेवा दिनुपर्छ,’ उनले भनिन्।

त्यस्तै, कर्जन्हा नगरपालिकाकी फूलकुमारी सदायले निःशुल्क स्वास्थ्य शिविरले आफूलाई राहत मिलेको बताइन्। आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेको अवस्थामा शिविरबाट स्वास्थ्य सेवा र औषधि पाउँदा सहज भएको उनको भनाइ छ।पैसा नभएर उपचार गराउन सकिरहेकी थिइनँ। अब औषधि खाएर भए पनि केही राहत मिल्ने आशा छ। यस्ता शिविर समय–समयमा सञ्चालन भए हामीजस्ता गरिब परिवारलाई ठूलो राहत मिल्नेछ,” उनले भनिन्।

अर्का स्थानीय जितनी पासमानले पनि आर्थिक अभावका कारण तीन वर्षदेखि छाती र खुट्टा दुख्ने समस्याको उपचार गराउन नसकेको बताइन्। शिविरमा निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा केही राहत महसुस गरेको उनले सुनाइन्।

‘आफ्नो कोही छैन, कसले पैसा दिन्छ?  कसरी उपचार गराउनु? खानसमेत मागेर खानुपर्छ’, उनले दुःखेसो पोखिन्।

स्वास्थ्यकर्मी ध्रुव पासवानका अनुसार शिविरमा ढाड दुख्ने, कम्मर दुख्ने तथा अन्य स्वास्थ्य समस्या भएका बिरामीको परीक्षण र उपचार गरिएको थियो। बालबालिकासहित विभिन्न उमेर समूहका बिरामीलाई आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको उनले जानकारी दिए।

गोलबजार नगरपालिका २ का वडाध्यक्ष सुकदेव सिंहले गरिब, अति विपन्न तथा दलित परिवारलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए।

हाम्रो मुख्य उद्देश्य गरिब, अति विपन्न तथा दलित परिवारलाई स्वास्थ्य सेवामार्फत राहत पुर्‍याउनु हो। वडा कार्यालयले प्रत्येक वर्ष जनताका लागि केही न केही स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। जनताको पैसा जनताकै सेवामा खर्च गर्ने उद्देश्यले यो शिविर आयोजना गरिएको हो,वडाध्यक्ष सिंहले भने।

आर्थिक अभावका कारण सामान्य स्वास्थ्य परीक्षणसमेत गराउन नसक्ने नागरिकका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी बन्न सक्ने देखिन्छ। स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके गरिब तथा विपन्न समुदायका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

शिविरमा १९० जनाले सेवा लिएका थिएभने, हाडजोर्नी विशेषज्ञ डाक्टर विनोद सिंह,डाक्टर आनन्द साहलगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए।