सिरहा, २६ असोज। सिरहाको गोलबजारमा सुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा महोत्तरीको रामगोपालपुर नगरपालिकाले विजयी सुरुवात गरेक छन्। सोमबार भएको उद्घाट्न खेलमा रामगोपालपुरले बाराको महागढीमाई नगरपालिकालाई ३४ रनले पराजित गर्दै विजय सुरुवात गरेको हो।

टस जितेर ब्याटिङ रोजेको रामगोपालपुरले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य पछ्याएको महागढीमाईले १३१ रन मात्र बनाउन सक्यो। लक्ष्य पूरा गर्न नसक्दा महागढीमाई प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ।
खेलमा ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका रामगोपालपुरका सुजित साह ‘म्यान अफ द म्याच’ घोषित भए। उनले बलिङमा तीन विकेट लिनुका साथै ब्याटिङमा १८ रनको योगदान दिएका थिए।
चोहर्वा क्रिकेट टिमको आयोजना र गोलबजार नगरपालिकाको समन्वयमा जारी प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाबाट १६ टीम सहभागी रहेको चोहर्वा क्रिकेट टिमका अध्यक्ष सरोजकुमार रायले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठ र नेकपाका केन्द्रिय सदस्य रामचन्द्र महतोेले संयुक्तरुपमा ब्याटिङ र बलिङ्ग गरेर गरेका थिए। उद्घाटन समारोहमा नगरप्रमुख श्रेष्ठले स्थानीय स्तरमा क्रिकेटको विकास, प्रतिभावान् खेलाडीलाई अवसर प्रदान र युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगिताको विजेता टोलीले नगद एक लाख ११ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। उपविजेता टोलीले ६१ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। त्यसैगरी, ‘म्यान अफ द सिरिज’ घोषित खेलाडीले पाँच हजार एक सय रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही दुई हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताले स्थानीय क्रिकेट प्रतिभाको पहिचान गर्नुका साथै खेलाडीबीच आपसी भाइचारा, सद्भाव र खेलकुद संस्कृतिको विकासमा योगदान पुर्याउने आयोजकको विश्वास छ।
प्रतियोगिताअन्तर्गत भोलिको खेल सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।






















