सप्तरी,  २६ असोज। दलित अधिकार आन्दोलनका अभियन्ता, लेखक तथा त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागका सेवानिवृत्त प्राध्यापक वसन्तकुमार विश्वकर्माको निधन भएको छ। उनको ७९ बर्षको उमेरमा सप्तरीको रुपनी गाउँपालिकाको तेरहौतास्थित आफ्नै निवासमा आईतबार निधन भएको हो।

लामो समयदेखि अशक्त रहनुभएका विश्वकर्माको आफ्नै निवासमा उपचारको क्रममा निधन भएको परिवारजनले बताएको छ। 

नेपालको दलित आन्दोलनमा सक्रिय बौद्धिक व्यक्तित्व उनले विश्वविद्यालयमा प्राध्यापन गर्नुका साथै दलित समुदायको सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक अवस्थाबारे अध्ययन, लेखन र नीतिगत बहसमा योगदान पुर्‍याउदै आएका थिए।

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनका जेठा ज्वाइँ विनोदकुमार विश्वकर्माले पनि उनकै शैक्षिक तथा सामाजिक बाटो पछ्याएको छ। विनोदकुमार त्रिभुवन विश्वविद्यालयमा हिन्दी विषय अध्यापन  गराउँदै छ र नेपालको दलित आन्दोलनमा समेत सक्रिय छन्। सप्तरीको तेरहौतामा जन्मिनएका विश्वकर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागमा लामो समय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए। उनले विश्वविद्यालयको हिन्दी विषय समिति तथा हिन्दी विषय स्थायी समितिमा समेत सदस्य रहेका थिए।

उनले लहान क्याम्पसमा संस्थापक सहायक प्राध्यापकका रूपमा काम गरेको थियो। त्यसअघि रामेछाप र सिन्धुलीमा सहायक जिल्ला शिक्षा अधिकारीका रूपमा सेवा गरे। उनले केन्द्रीय तथ्यांक विभागअन्तर्गत जिल्ला कृषि गणना अधिकारी, खानी तथा भूगर्भ विभागमा वरिष्ठ क्षेत्रमा सहायक तथा सप्तरीका विद्यालयमा शिक्षकका रूपमा समेत काम गरेका थिए।