काठमाडौं, २८ असोज । भारतको बिहार राज्यको वैशाली जिल्लामा मङ्गलवार राति गङ्गा नदीमा एउटा डुङ्गा पल्टिँदा कम्तीमा १३ जना बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
डुङ्गामा सवार गाउँलेहरू एउटा भोजमा सहभागी हुन अर्को गाउँ गइरहेका विवरणमा जनाइएको छ।
स्थानीय बासिन्दाका अनुसार भागतान टोला (रामपुर श्यामचन्द पञ्चायत) मा माता महारानी नजिकै सिंहेश्वर राईको घरमा भोज भइरहेको थियो। सानो डुङ्गामा करिब २० जना सवार थिए।
वैशाली जिल्लाकी जिल्लाधिकारी वर्षा सिंहका अनुसार सात जनालाई उद्धार गरी ‘नालन्दा मेडिकल कलेज एन्ड हस्पिटल’ पठाइएको छ। डुङ्गामा सवार सबै बालबालिका १५ वर्ष अथवा सोभन्दा कम उमेरका भएका उनले बताइन्।
उद्धार गरिएका केहीलाई थप उपचारका लागि बिहारको राजधानी पटना पठाइएको अधिकारीहरूले बताएका छन्।
वस्तुस्थिति बुझ्न जिल्लाधिकारी सिंह स्थानीय अस्पताल पुग्दा त्यहाँ उपस्थित आक्रोशित मानिसहरूले जिल्ला प्रशासनविरुद्ध नाराबाजी गरेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री सम्राट चौधरीले क्षतिपूर्तिको घोषणा गरेका छन्।
बिहारका मुख्यमन्त्री चौधरीले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।
ूवैशालीको राघोपुरमा भएको डुङ्गा दुर्घटनामा निर्दोषको ज्यान गएको खबर अत्यन्तै दुःखद र हृदयविदारक छ। यो कठिन घडीमा शोकसन्तप्त परिवारप्रति मेरो गहिरो समवेदना छ। भगवान्ले दिवंगत आत्मालाई शान्ति प्रदान गरून् र पीडित परिवारहरूलाई सहन गर्ने शक्ति प्रदान गरून्,ू उनले लेखेका छन्।
‘राज्य सरकारले प्रतिमृतक परिवारलाई ४ लाख भारु उपलब्ध गराउने छ। प्रशासनलाई राहत एवं उद्धार कार्यमा तीव्रता दिन र घाइतेहरूलाई राम्रो उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।’
क्षतिपूर्तिको घोषणा
अर्कोतर्फ प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिमृतक परिवारलाई २ लाख भारु सहयोग गरिने घोषणा गरेका छन्। प्रतिघाइतेलाई ५० हजार भारु उपलब्ध गराइने छ।
ूबिहारको वैशालीमा डुङ्गा पल्टिँदा भएको मृत्युको घटना अत्यन्तै दुःखद छ। यो कठिन समयमा शोकसन्तप्त परिवारप्रति मेरो समवेदना छ। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु। स्थानीय प्रशासनले प्रभावित मानिसहरूलाई सहयोग प्रदान गरिरहेको छ,ू प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
राघोपुरका विधायक तथा बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले पनि एक्समा एउटा भिडिओ सन्देश पोस्ट गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
‘राघोपुरमा भएको डुङ्गा दुर्घटनाको हृदयविदारक घटनाबाट म गहिरो रूपमा स्तब्ध छु। भगवान्ले दिवंगत आत्माहरूलाई शान्ति प्रदान गरून् र शोकसन्तप्त परिवारलाई यो क्षति सहन गर्ने शक्ति प्रदान गरून्। हाल म भारत गठबन्धनको बैठकमा भाग लिन दिल्लीमा छु। भोलि पटना पुग्नेबित्तिकै म आफ्नो विधानसभा क्षेत्रमा जाने छु र प्रभावित परिवारहरूलाई भेट्ने छु,’ उनले भनेका छन्।
(बीबीसी नेपालीसेवाबाट)






















