काठमाडौं, ३ मंसिर। तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३३ रन बनायो। सुदूरले फाइनलमा स्थान बनाउन एक सय ३४ रन बनाउनुपर्नेछ।
सुदूरका बलर हाबी भएपछि चितवनका डेविड मलमबाहेक कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्। मलमले एक्लै इनिङ्स धान्दै लज्जास्पद स्कोर बनाउनबाट टिमलाई जोगााएका थिए।
तल्लोक्रमका सलाहुद्दिन खानले १८ रन जोडे। आठौं क्रममा आएका उनले १६ बलमा एक चौका प्रहार गर्दै मलमलाई राम्रो साथ दिएका थिए। सलाहुदिद्न र मालमबीच सातौं विकेटको लागि सर्वाधिक ४० रनको साझेदारी भएको थियो।
३९ वर्षीय इंग्ल्यान्डका ब्याटर मलमले अविजित ७१ रन बनाए। उनले ५१ बलमा ९ चौका र २ छक्का हिर्काए। बलर कमलसिंह ऐरीले ८ बलमा १० रनको योगदान गरे।
यसअघि इलिमिनेटरमा काठमाडौं गोर्खाजविरुद्ध कीर्तिमानी शतक बनाएका श्रीलंकन कामिल मिशरा मात्र चार रन बनाएर आउट भए। एनपिएलकै व्यक्तिगततर्फ सर्वाधिक रन बनाउने क्रममा उनले अविजित १२० रन बनाएका थिए।
देव खनाल ६, इंग्ल्यान्डका पूर्व खेलाडी समेत रहेका कप्तान रवि बोपरा १, विवेक यादव ३, पूर्व कप्तान कुशल मल्ल १, पाकिस्तानी अलराउन्डर उसमा मिरले २ रन जोडेका थिए।
सुदूरपश्चिमका बलर स्कट कुगुलेइनले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिएका थिए। थारिन्दु रत्नायेकेले २ विकेट लिए। इशान पाण्डे, हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए।






















