सिन्धुली, १ मंसिर। जनकपुरबाट काठमाडौंको लागि हिडेको  माइक्रोबस सिन्धुलिमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ पलासेस्थित बीपी राजमार्गमा मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको यात्रुवाहक माइक्रोबस अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार दिउँसो करिब २ बजे  माइक्रोबस दुर्घटनामा परेको थियो। दुर्घटनाका समयमा चालकसहित १४ जना सवार रहेको र सबै जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको छ। उद्धार गरिएका सबै घाइतेलाई प्रारम्भिक उपचारका लागि खुर्कोटस्थित स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते पिउस गोइत, आयुस गोइत, सीतादेवी यादव र नाम नखुलेका अर्का एक जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये नौ जनाको पहिचान खुलेको छ। पहिचान खुल्नेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका ८ निवासी दीपककुमार दास रहेका छन्। त्यस्तै, शहीदनगर नगरपालिका ७ का १७ वर्षीया रानीकुमारी मण्डल, २ नम्वर वडाका १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित घाइते भएका छन्।

यसैगरी, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियांका साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा तीन वर्षीया ओमी साह पनि दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परेका अन्य पाँच जनाको नाम, ठेगाना तथा परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाए।