काठमाडौं, १४ असोज। विमान चालकहरूबीच झगडा भएपछि यूएईको दुबईबाट इजरेलको तेल अभिभका लागि उडेको एउटा यात्रुवाहक विमान साउदी अरबतर्फ मोडिएको इजरेली अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

उडान ट्र्याक गर्ने वेबसाइट ‘फ्लाइटरेडार२४’ का अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार बिहान उडेको फ्लाइदुबईको उक्त विमानले दुई घण्टापछि आपत्कालीन सङ्केत पठाएको थियो।

‘त्यसको केही मिनेटपछि उक्त सङ्केतलाई परिवर्तन गरेर ‘विमान अपहरण’ मा परेको सङ्केत पठाइएको थियो। तर पछि फेरि त्यसलाई सामान्य आपत्कालीन सङ्केतमै फर्काइएको थियो।’

उक्त विमानमा झन्डै १५० जना सवार थिए। तीमध्ये अधिकांश इजरेली नागरिक हुन्।

उडान नम्बर एफजेड१०७३  (FZ1073) को उक्त विमान बेन–गुरियन विमानस्थलमा अवतरण हुनुपर्ने थियो। तर विमानचालकहरूबीच विवाद उत्पन्न भएपछि अप्रत्याशित रूपमा उत्तरपूर्वी साउदी अरबको तबुक विमानस्थलमा पुगेको अधिकारीहरूले जनाएका छन्।

‘चक्कु प्रहार’

इजरेली अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले एक पाइलटले विमान आफ्नो नियन्त्रणमा लिनुअघि अर्का पाइलटलाई चक्कु प्रहार गरेको विवरण प्रकाशित गरेका छन्।

विमानमा सवार यात्रुहरूले पनि विमानभित्र धारिलो हतियार प्रहार भएको जानकारी स्थानीय सञ्चारमाध्यमलाई दिएका छन्।

फ्लाइदुबईका एक प्रवक्ताले विमानमा ‘उडानका क्रममा एउटा घटना भएको’ पुष्टि गरेका छन्।

‘दुई मिनेटमा १७,००० फीट तल ओर्लियो’

फ्लाइटरेडार २४ को तथ्याङ्कले उडेको दुई घण्टापछि उक्त विमान यूटीसी ०५ः२१ बजेपछि दुई मिनेटभन्दा कम समयमा १७,००० फीट (५,००० मिटरभन्दा बढी) तल तीव्र गतिमा ओर्लिएको देखिन्छ।

उक्त विमान यूटीसी ५ः४० मा केही बेर जोर्डनको आकाशमा प्रवेश गरेर केही मिनेटपछि पुनः साउदी अरब फर्किएको थियो। साउदी अरबको आकाशमा पुगेपछि अवतरण गर्ने उद्देश्यले विमान तल ओर्लिन थालेको देखिन्छ।

सुरुमा विमान अपहरण भएको आशङ्कामा इजरेली प्रधानमन्त्री र रक्षामन्त्रीले आपत्कालीन छलफल गरेका थिए।

अप्रत्याशित रूपमा आफ्नो उडान मार्गबाट विमान अन्यत्र मोडिएपछि इजरेली वायुसेनाले प्रतिक्रियास्वरूप लडाकु विमानहरू परिचालन गरेको थियो।

एउटा विज्ञप्ति जारी गर्दै नेतन्याहूले स्थिति नियन्त्रणमा रहेको र साउदी अरबबाट इजरेली यात्रुहरूलाई स्वदेश फर्काउने प्रयास भइरहेको बताएका छन्।

(बीबीसी नेपालीबाट)