जनकपुरधाम, १ असोज। वीरगन्जबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका १५ स्थित बास्तु विहार चोकनजिकबाट बुधबार साँझ शंकास्पद अवस्थामा रोकिराखिएको भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा हतियार तथा गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले कारबाट सिक्सर पेस्तोल २ थान, कटुवा पेस्तोल २ थान र ७.६२ एमएम एसएलआरको ६ राउन्ड गोली फेला पारेको हो।

बरामद हतियार, गोली तथा भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कार कसको हो, कसले त्यहाँ ल्याएर रोकिराखेको थियो तथा बरामद हतियार र गोली कहाँबाट ल्याइएको भन्ने विषयमा भने प्रहरीले तत्काल केही खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

(न्यूज कारखानाबाट)