काठमाडौं, १५ कात्तिक। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ। आयोजनाका अनुसार कार, भ्यान, पिकअपलगायतका हलुका गाडीले सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिदा ६० रुपैयाँ शुल्क लाग्नेछ।

मिनी बस–ट्रक र टिपरले काठमाडौं भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ।

ठूला ट्रक तथा लरीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यसअघि पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाडीलाई प्रवेश खुला गरिएको थियो। गएको भदौ १७ मा नागढुंगा ओरालोमा सडक भासिएर समस्या भएपछि सबै गाडीलाई हिजो शनिबारसम्म बिनाशुल्क चल्न दिइएको थियो।

सडक बोर्डले कार्यकारी समितिको असोज १२ को निर्णय तथा राजपत्रमा गएको चैत २६ मा प्रकाशित सूचनाअनुसार आजदेखि शुल्क लिने निर्णय गरेको हो। शुल्क अहिलेलाई नगद वा क्यूआरबाट पनि तिर्न मिल्ने व्यवस्था गरिएको छ। युसिन–एआरटी जेभीले सुरुङ सञ्चालनको जिम्मा पाएको छ।

युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो। निर्माण थालेको झण्डै ८० महिनापछि गएको साउन ११ मा नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको थियो। सुरुङमार्गभित्र गति तोकिएको छ।

प्रतिघण्टा ४० किलोमिटरको गतिमा गाडी चलाउनुपर्नेछ।