- रीता परियार
अरूले जे भन्यो त्यही पत्याउने हाम्रो बानीले नेपाली समाज कति सजिलै भ्रम र अफवाहको पछि दौडिरहेका छ भनेर देखाइरहेको छ। सामाजिक सञ्जालमा आएका सामग्रीलाई नै विश्वास गर्ने र धारण बनाउनेहरूको जमात बढ्नु समाजका लागि चुनौती बनिरहेको छ।
यस्तो कसले बनाइरहेको छ रु हामी समाज निर्माण गर्दै छौं कि निर्माण गरिएका भाष्यका पछाडि दौडिरहेका छौं ?
समाज असाधारण गतिमा बदलिरहेको छ। प्रविधि फेरिएको छ, सूचना प्रवाहको गति बढेको छ, राजनीतिक चेतना बदलिएको छ र मानिसको सोच्ने तथा प्रतिक्रिया दिने शैली पनि रूपान्तरण भएको छ। हिजो कुनै विषयमा बहस गर्न घण्टौँ वा सिंगो दिन लाग्थ्यो, आज केही मिनेटमै त्यसले लाखौं मानिसको ध्यान तान्न सक्छ। तर यो परिवर्तनको सबैभन्दा गम्भीर पक्ष प्रविधि मात्र होइन। प्रश्न हो–समाजमा यसको अर्थ कसरी निर्माण भइरहेको छ?
आज हामी केवल सूचना प्राप्त गरिरहेका छैनौं, सूचना निश्चित अर्थ र उद्देश्यसहित प्रस्तुत गरिँदै छ। कुनै घटना ‘उपलब्धि’ हो कि ‘विफलता’, कोही ‘नायक’ हो कि ‘खलनायक’, कुनै विचार ‘प्रगतिशील’ हो कि ‘पछौटे’। यी विषय तथ्यले मात्र निर्धारण गर्दैनन्। ती तथ्य वरिपरि निर्माण गरिने भाष्यले पनि निर्धारण गर्छ।
यहींबाट भाष्य निर्माण र अर्थ ग्रहणको बहस सुरु हुन्छ। घटना एउटै, अर्थ अनेक। सञ्चारसम्बन्धी प्रभावशाली चिन्तक स्टुअर्ट हलले सञ्चारलाई सूचना पठाउने र त्यसलाई जस्ताको तस्तै ग्रहण गर्ने सरल प्रक्रिया मानेनन्। सन्देश निर्माण गर्ने पक्षले निश्चित अर्थसहित सूचना प्रस्तुत गर्छ तर त्यसलाई ग्रहण गर्ने व्यक्तिले आफ्नो अनुभव, विश्वास, सामाजिक अवस्था र राजनीतिक दृष्टिकोणअनुसार फरक अर्थ निकाल्न सक्छ।
आजको सामाजिक सञ्जालमा यो विषय झन् सान्दर्भिक छ।
एउटै घटना कसैका लागि क्रान्ति हुन्छ, कसैका लागि अराजकता। एउटै व्यक्ति कसैका लागि नायक हुन्छ, अर्काका लागि खलनायक। एउटै राजनीतिक निर्णयलाई कसैले ऐतिहासिक उपलब्धि भन्छ, अर्कोले राष्ट्रिय क्षति। घटना एउटै हुन्छ तर त्यसको व्याख्या फरक हुन्छ।
समस्या फरक व्याख्या हुनुमा होइन। लोकतन्त्रमा फरक व्याख्या आवश्यक छ। समस्या त्यतिबेला सुरु हुन्छ, जब आफ्नो व्याख्या मात्र सत्य र अरूको झूट ठान्न थालिन्छ।
नयाँ भनेको राम्रो, पुरानो भनेको नराम्रो ?
आजको सार्वजनिक बहसमा एउटा सरल तर प्रभावशाली भाष्य बलियो हुँदै गएको छ– नयाँ राम्रो, पुरानो नराम्रो। नयाँ पुस्ता चाहिन्छ। नयाँ विचार चाहिन्छ। नयाँ राजनीतिक शक्ति चाहिन्छ। पुराना कमजोरी सुधार्नुपर्छ। तर नयाँ हुनु मात्रले कुनै विचारलाई सही बनाउँदैन। त्यस्तै, पुरानो हुनु मात्रले कुनै संस्था, अनुभव वा विचारलाई गलत बनाउँदैन।
समाज परिवर्तन भनेको विगत मेट्नु होइन, विगतबाट सिकेर भविष्य निर्माण गर्नु हो। नयाँ पुस्ताले पुरानो पुस्ताबाट अनुभव सिक्न सक्छ र पुरानो पुस्ताले नयाँ पुस्ताका प्रश्नबाट आफूलाई सुधार्न सक्छ। समस्या नयाँ र पुरानाबीचको अन्तरमा होइन, समस्या तब हुन्छ, जब यो अन्तरलाई घृणा र विभाजनको राजनीतिक हतियार बनाइन्छ।
असहमति किन शत्रुतामा बदलिँदै छ ?
आज कामभन्दा भाष्य ठूलो हुन थालेको छ। कसले कति राम्रो भाषण गर्यो ? कसको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भयो ? कसका समर्थक धेरै ? यी प्रश्नले राजनीतिक बहस कब्जा गरिरहेका छन्। तर वास्तविक प्रश्न हुनुपर्ने हो— कसले के नीति ल्यायो ? कति कार्यान्वयन गर्यो? लोकतन्त्रमा असहमति आवश्यक छ। तर आज असहमति र शत्रुताबीचको दूरी छोटिँदै गएको देखिन्छ। मेरो विचारसँग असहमत हुनुभयो भने तपाईं गलत मात्र होइन, ‘शत्रु’ पनि हुनुपर्ने रु, फरक राजनीतिक दललाई समर्थन गर्नुभयो भने देशप्रतिको निष्ठामाथि नै प्रश्न उठाउनुपर्ने रु यस्तो संस्कृतिले समाजलाई दुई समूहमा विभाजित गर्छ— हामी सही, उनीहरू गलत। त्यसपछि तर्क आवश्यक पर्दैन । तथ्य आवश्यक पर्दैन। आफ्नो समूहले भनेको कुरा सत्य । अर्को समूहले भनेको असत्य।
यही सन्दर्भमा हाना आरेन्टको तथ्य, सत्य र राजनीतिसम्बन्धी चिन्तन महत्त्वपूर्ण हुन्छ। सार्वजनिक जीवनमा तथ्य र प्रचारबीचको भिन्नता कमजोर हुँदै जाँदा नागरिकको विवेकपूर्ण निर्णय गर्ने क्षमता पनि कमजोर हुन्छ । आज हाम्रो समस्या गलत सूचना फैलिनु मात्र होइन। गम्भीर समस्या त सत्य र असत्य छुट्याउने सामूहिक क्षमता कमजोर हुँदै जानु हो । जब तथ्यभन्दा आफ्नो समूहप्रतिको निष्ठा ठूलो लाग्न थाल्छ, आफूले विश्वास गरेको विषय प्रमाणबिनै सत्य लाग्न थाल्छ त्यसपछि राजनीति विचारको प्रतिस्पर्धा नभएर पहिचानको युद्ध बन्न थाल्छ।
राजनीतिमा भाष्य ठूलो कि परिणाम?
आजको राजनीतिमा कामभन्दा भाष्य ठूलो हुन थालेको छ। कसले कति राम्रो भाषण गर्यो ? कसको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भयो? कसले कसलाई कडा जवाफ दियो रु कसका समर्थक धेरै ? यी प्रश्नले राजनीतिक बहस कब्जा गरिरहेका छन्।
तर वास्तविक प्रश्न हुनुपर्ने हो— कसले के नीति ल्यायो ? कति कार्यान्वयन गर्यो ? जनताको जीवनमा के परिवर्तन आयो ? सार्वजनिक संस्थालाई कति बलियो बनायो? आफ्नो आलोचना कति सहन सक्यो? राजनीतिलाई व्यक्तिको लोकप्रियताबाट नीतिनिर्माण र परिणामतर्फ फर्काउन नसक्ने हो भने लोकतन्त्र पनि बिस्तारै प्रदर्शनको राजनीति बन्न सक्छ।
अब बाटो के हो?
समस्या जटिल छ तर समाधान असम्भव छैन। पहिलो, सूचना ग्रहण गर्ने संस्कार बदल्नुपर्छ। सामाजिक सञ्जालमा आएको हरेक कुरा सत्य हुँदैन। प्रतिक्रिया दिनुअघि स्रोत हेर्ने, प्रमाण खोज्ने र अर्को पक्ष बुझ्ने बानी विकास गर्नुपर्छ।
दोस्रो, नयाँ र पुरानाबीच संवाद आवश्यक छ। पुस्ताबीचको अन्तरलाई संघर्ष होइन, सहकार्यको आधार बनाउनुपर्छ।
तेस्रो, असहमतिलाई लोकतन्त्रको स्वाभाविक हिस्सा मान्नुपर्छ। फरक विचार राख्ने व्यक्ति शत्रु होइन। आलोचना लोकतन्त्रको कमजोरी होइन, त्यसको स्वास्थ्यको संकेत हो।
चौथो, सार्वजनिक बहसलाई व्यक्तिभन्दा नीतिमा केन्द्रित गर्नुपर्छ। नेता कस्तो देखिन्छ भन्दा उसले के गर्छ भन्ने महत्त्वपूर्ण हुनुपर्छ। भाषणभन्दा कार्यसम्पादन, नाराभन्दा नीति र लोकप्रियताभन्दा परिणामलाई महत्त्व दिनुपर्छ।
पाँचौं, आलोचनात्मक सोचलाई शिक्षा र सार्वजनिक संस्कृतिको हिस्सा बनाउनुपर्छ। नागरिकले सूचना पढ्न मात्र होइन, त्यो सूचना कसरी निर्माण भयो, कसको हितमा प्रस्तुत भयो र त्यसको प्रमाण के हो भनेर प्रश्न गर्न सक्नुपर्छ। र अन्ततः, असहमति रहोस् तर मानवीय सम्मान नहराओस्।
समाजलाई केवल राजनीतिक नेता, सञ्चारमाध्यम वा सामाजिक सञ्जालले निर्माण गर्दैनन्। हामी नागरिक पनि त्यसको निर्माणमा सहभागी छौं। हामीले जे साझा गर्छौं, जे विश्वास गर्छौं, जसलाई समर्थन गर्छौं र जसलाई घृणा गर्छौं त्यसैले हाम्रो सार्वजनिक संस्कार निर्माण गर्छ।
हामी त्यसलाई कसरी बुझिरहेका छौं ?
यदि हामी हरेक भाष्यलाई प्रश्न गर्न सक्छौं, तथ्य र प्रचार छुट्याउन सक्छौं, असहमतिलाई सम्मान गर्न सक्छौं र नयाँलाई स्वीकार गर्दा पुरानो अनुभवबाट सिक्न सक्छौं भने परिवर्तन समाजका लागि शक्ति बन्न सक्छ। तर यदि केवल आफ्नो समूहले दिएको भाष्य दोहोर्याइरह्यौं भने प्रविधि जतिसुकै आधुनिक भए पनि हाम्रो सार्वजनिक चेतना पुरानै ध्रुवीकरणमा फसिरहनेछ। हामीलाई केवल नयाँ समाज चाहिएको होइन। नयाँ ढंगले सोच्ने समाज चाहिएको छ। घृणाभन्दा संवाद, नाराभन्दा नीति, अफवाहभन्दा तथ्य, अन्ध समर्थनभन्दा प्रश्न र विभाजनभन्दा सहकार्य चाहिएको छ। किनकि, समाजको भविष्य कसले कथा लेख्छ भन्नेमा मात्र निर्भर हुँदैन ! नागरिकले त्यो कथा कति विवेकपूर्ण ढंगले पढ्छन् भन्नेमा पनि निर्भर हुन्छ।
(कान्तिपुरबाट)



















