गोेलबजार, ५ भदौ। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कडा कार्वाही माग गर्दै सिरहाको गोलबजारमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्। गरिमालाई न्यायको माँग गर्दै युवा समूह गोलबजारको आयोजनामा शुक्रबार शान्तिपूर्ण ¥याली निकालिएको हो।

प्रदर्शनकारीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर ‘गरिमा बहिनीलाई न्याय दे, बालेन सरकार न्याय दे, गृहमन्त्री न्याय दे, हत्यारालाई कारबाही गर, बलात्कारीलाई फाँसी दे, राजनीतिक सम्झौता चल्दैन, पीडित परिवारलाई न्याय दे, नारीमाथिको अन्याय बन्द गर र नारीमाथिको हिंसा सहँदैनौँ,’ जस्ता लगायतका नारा लगाएका थिए।
कोणसभालाई सम्बोधन गर्दै युवा समूह गोलबजारका अगुवा तथा अभियन्ता वीरेन्द्र सिंह (वीरेन)ले गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कार्बाहीको माग गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरे। उनले देशमा भ्रष्टाचार अन्त्य, सुशासन र नागरिकको सुरक्षाको अपेक्षा गरिए पनि बालिका तथा महिलामाथि हुने हिंसाका घटनामा पीडित परिवारले न्याय पाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘गरिमा बहिनीलाई न्याय दिनुपर्छ, सरकार र गृहमन्त्री सुदन गुरुङले घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ। अन्यथा हामी थप कडा आन्दोलन गर्न बाध्य हुनेछौँ’, उनले भने।
इलाका प्रहरी कार्यालय गोलबजारअगाडिबाट सुरु भएको ¥याली भूमिजा अस्पतालको गल्ली हुँदै गोलबजारको मुख्य चोक गोलपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।
यस्तै, हिजो साझमात्र सिरहाको मुख्य चौक लहानमा पनि गरिमाको न्यायको माग गर्दै युबाहरुले प्रदशन गरेका थिए।
प्रहरीका अनुसार साउन ३१ गते आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता भएकी गरिमाको शव घरबाट करिब २०० मिटरको दूरीमा रहेको एक खाली घरमा मंगलबार साँझ फेला परेको थियो। खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तालिमप्राप्त कुकुरसहित परिचालन भएको प्रहरी टोलीले खोजतलास गर्दा कपडामा पोको पारिएको अवस्थामा बालिकाको शव फेला पारेको थियो।
घटनापछि स्थानीयस्तरमा आक्रोश बढ्दै गएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।






















