सिरहा, ७ भदौ। सिरहाका करेन्ट लागेर एकैदिन तीनजना किसानको मृत्यु भएको छ। खेत सिंचाई गर्ने क्रममा करेन्ट लागेर लक्ष्मीपुर पतारी गाउँ पालिकाकाका २ र नबराजपुर गाउँ पालिकाका एक जना गरी तीन जनाको मृत्यु भएको हो।  

लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुकियसहीका ४५ वर्षिय इसा अन्सारी र सोही गाउँपालिका लभटोलीका ५५ वर्षिय पुलकित मण्डलको खेत सिंचाई गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। खेतमा सिंचाइको लागि मोटरको तार सम्याउने क्रममा करेन्ट लागेको बेहोस अन्सारीको घटनास्थमै मृत्यु भएको थियो। मण्डलको नाङ्गो तार छुने क्रममा करेन्ट लागेर मृत्यु भएको जनाएको छ। 

त्यसैगरी, आजै नवराजपुर गाउँपालिका ४ मा विद्युत मोटरको तार जोडने क्रममा नाङगो तार छुँदा करेन्ट लागेर  २८ वर्षिय पशुपति शर्माको मृत्यु भएको छ। 

घरदेखि २५० मिटर पश्चिममा विद्युत मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो। उपचारको लागि नवराजपुर आधारभुत अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

तीनै जनाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रदेशिक अस्पताल राखिएको छ।

घटनाका सम्वन्धमा थप उपचार भईरहेको प्रहरीले जनाएको छ। 

तराईमा बालि सिंचाई गर्ने क्रममा वर्षेनी ठूलो संख्यामा किसानको मृत्यु हुने गरेको छ। विद्युतिय सचेतना अभावका कारण र व्यवस्थिति विद्युतिकरण नहुँदा किसानले अनाहाकमा ज्यान गुमाउनु परिरहेको जानकारहरु बताउँछन्।