राजविराज, ७ भदौ। सप्तरीमा २ वर्षीया नाबालिकाको हत्या अभियोगमा प्रहरीले उनकै सौतेनी आमालाई नियन्त्रणमा लिएको छ। शम्भुनाथ नगरपालिका ३ का  दुई वर्षीया  खुशी खातुनको हत्या अभियोगमा उनकी सौतेती आमा १९ वर्षीया मुस्कान खातुनलाई प्रहरीले पक्राउ गरेको हो। 

खुसी मोहम्मद इरफानकी छोरी हुन्। उनी हाल बैदेशिक रोजगारका क्रममा रहेका छन्। मुस्कान मृतक नाबालिकाकी कान्छी आमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काले जानकारी दिए। 

आइतबार घरबाट हराएको दुई घण्टा पछि नै मृत भेटिएकी थिइन्। घर पछाडिको झाडीमा भेटिएको शव प्रहरीले पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ।

मोहम्मद इरफानकी जेठी पत्नी र कान्छीको बिचमा विवाद भएको थियो। शनिबार दुई पत्नीको बिचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयहरूले बताएका छन्। ‘सम्पत्तिको हकदार को हुनेरु’ भन्नेबारे पनि दुई जनाको बिचमा विवाद भएको थियो।

पुर्ख्यौली घरमा इरफानका जेठी पत्नी र छोरी बस्दै आएका थिए। कान्छी पत्नी सोही ठाउँ नजिकै डेरा लिएर बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट मुस्कानले हत्या गरेको देखिएको एसपी खड्काले बताए। उनले भने, ‘घाउचोट देखिँदैन, हत्यामा एक जनाको मात्रै संलग्नता देखिन्छ।’

नाबालिका हराएको सूचना पाएपछि प्रहरीले तत्काल खोजतलास सुरु गरेको थियो। हत्याको विरोधमा स्थानीयले आइतबार दिउँसो केहीबेर रुपनी बजार बन्द गराए। अहिले रुपनी बजार र राजमार्गको अवरोध हटेको छ।