गोलबजार, ४ भदौ। सिरहाको गोलबजार नगरपालिका २, लालपुर टोड्केस्थित जनता आधारभूत विद्यालयलाई कुमारी बैंक लिमिटेड गोलबजार शाखाले करिब २ लाख ६५ हजार मूल्य बराबरको शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन्। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई स्मार्ट टिभी, खेलकुद सामग्री तथा विद्यार्थीका लागि ट्र्याकसुट सेट हस्तान्तरण गरेका हुन्।

बैंकले कक्षा १ देखि ५ सम्म अध्ययनरत १२० जना छात्र–छात्रालाई ट्र्याकसुट सेट उपलब्ध गराएको छ। बालविकास तहका बालबालिकाको सिकाइका लागि ५५ इन्चको स्मार्ट टिभीसेट तथा करिब ७५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गरिएको बैंकका गोलबजार शाखा प्रमुख प्रवन्धक प्रदिप कुमार साहले जानकारी दिए।

गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले विद्यालय र विद्यार्थीका लागि बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। बैंक तथा अन्य संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा सहयोग गर्नु सकारात्मक पक्ष भएको मेयर श्रेष्ठले बताए। आगामी दिनमा पनि कुमारी बैंकलगायत अन्य बैंक तथा वित्तीय संस्थाबाट यस्तै सहयोग निरन्तर हुने विश्वास उनले व्यक्त गरे।

सामग्री हस्तान्तरण कार्यक्रममा कुमारी बैंक मधेश प्रदेश प्रमुख सुरेश कुमार यादवले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको उज्वल भविष्यकोलागि तथा उनीहरूको मनोबल उच्च बनाउँदै पढाइप्रतिको रुचि र खेलकुदमा सहभागिता बढाउने उद्देश्यले सहयोग गरिएको बताए।
बैंकले समाजबाट आर्जन गरेको नाफाको केही हिस्सा समाजको हितमा खर्च गर्ने उद्देश्य अन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा योगदान गर्दै आएको उनको भनाइ छ। आगामी दिनमा पनि बैंकको दायित्व अन्तर्गत सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए।
विद्यालयकी प्रधानाध्यापक अमृता राईले यसअघि कुनै पनि निकायबाट यस किसिमको सहयोग प्राप्त नभएको बताइन्। कुमारी बैंकले गरेको सहयोगले विद्यार्थीको शैक्षिक गतिविधि तथा अतिरिक्त क्रियाकलापमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै आभार व्यक्त गरिन्।
बैंकका गोलबजार शाखा प्रमुख साहले सहयोग सानो भए पनि शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। समाजको समग्र विकासका लागि शिक्षाको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले शिक्षाको विकास भए समाज स्वतः विकासको बाटोमा अघि बढ्ने बताए।
प्रत्येक संस्था र व्यक्तिले आफ्नो ठाउँबाट स–सानो सहयोग गर्दै जाने हो भने समाजको विकास गर्न धेरै समय नलाग्ने उनको भनाइ छ।
श्री जनता आधारभूत विद्यालयमा बालविकास तहदेखि कक्षा ८ सम्म पठनपाठन हुँदै आएको छ। विद्यालयमा हाल करिब २ सय विद्यार्थी अध्ययनरत छन्। यहाँ ८ जना शिक्षक कार्यरत रहेका छन्।
बैंकले उपलब्ध गराएको स्मार्ट टिभी बालविकास तहका बालबालिकाको सिकाइमा प्रयोग गरिने तथा खेलकुद सामग्री र ट्र्याकसुट विद्यार्थीको अतिरिक्त क्रियाकलाप र खेलकुदमा उपयोग गरिने विद्यालयले जनाएको छ।
बैंकको सहयोगले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा थप उत्साह बढ्नुका साथै सिकाइ र खेलकुद गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।






















