सिरहा, १३ साउन। सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाका विभिन्न स्थानमा बुधबार बिहानैदेखि प्रदर्शनका कारण यातायात ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ। जिल्लाको लहान, धनगढीमाई, गोलबजार, कर्जन्हा, सिरहा सदरमुकामलगायत क्षेत्रमा प्रदर्शन तथा राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेका हुन्।

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन बीचबाटोमै रोकिएका रोकींदा हजारौं यात्रु अलपत्र परेका छन्। गन्तव्यसम्म पुग्न पैदल यात्रा र छोटो दुरीको लागि पनि महगो भाडातिर्न बाध्य भएका छन्।

यातात ठप्प हुँदा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी यात्रुले बढी सास्ती खेप्नुपरेको छ।
जनकपुरबाट आफन्त भेटेर फर्किएका सिरहाकै लक्ष्मीपुर पतारीका शिवनाथ मण्डल पाँच जनाको समूहले आन्दोलनका कारण सास्ती मात्र हैन आफू ठगीसमासमेत गुनासो गरे। ‘जनकपुरबाट आउँदै थियौं, धनुषातर्फको पोर्ताहामा नै गाडी रोकीयो,’ उनले भने, ‘केही दूरी पैदल हिँडेपछि एउटा सिटी रिक्सा भेटियो, सामान्यतया ७० रुपैयाँ लाग्ने भाडाका लागि १५० रुपैयाँ तिर्नुप¥यो।’
झमक्कै साँझ पर्दा उनीहरु गोलबजार आईपुगेका थिए। घरपुग्न उनीहरुले अझै २५ किलोमिटर पैदल दुरी तय गर्नु पर्ने हुन्छ।
यस्तै अर्का यात्री अशोक साहले आफूहरूलाई बाटो बन्द भएको जानकारी नै नभएको बताए। उनले भने, ‘हामीलाई राजमार्ग बन्द भएको थाहा थिएन। लहानबाट गोलबजारसम्म त जसोतसो आइयो, तर यहाँ आएपछि पैदल हिँड्न बाध्य भएका छौं। मसँग फोनसमेत छैन। अब जसोतसो पैदल यात्रा गरेर गन्तव्य पुग्नुपर्ने अवस्था छ। बाटोभरि पसलसमेत बन्द भएकाले खानेकुरा र पानीसमेत पाउन कठिन भएको छ। आन्दोलनले यात्रुहरूलाई ठूलो समस्या परेको छ।’
आन्दोलनका कारण मण्डल र साहमात्र हैन हजारौं सर्वसाधारण यात्रु ठगिने अवस्था सिर्जना भएको छ।
आन्दोलनकै कारण लहान, गोलबजारलगायतका बजारसमेत बन्द गरिएका छन्। केही स्थानमा व्यक्तिका पसल तोडफोड तथा धार्मीक संस्थाहरुमा हुलहुज्जत गरेको घटनाहरु सार्वजनिक भएको छ। प्रदर्शनका कारण दैनिक जनजीवन, व्यापार–व्यवसाय तथा आवतजावतसमेत प्रभावित बनेको छ।
यसैबीच, सुनसरी घटनापछि धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा द्वेषपूर्ण अभिव्यक्ति फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले सबै नागरिकलाई संयमित हुन आग्रह गरेको छ।
बुधबार सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा पुराना घटनालाई वर्तमान घटनासँग जोडेर भ्रम सृजना गर्ने, कुनै धर्म, समुदाय, संस्कृति वा आस्थामाथि लक्षित गरी घृणा फैलाउने तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अनुरोध गरिएको छ।
प्रशासनले सिरहामा विभिन्न जातजाति, भाषा, धर्म तथा समुदायबीच लामो समयदेखि कायम रहेको आपसी एकता, सद्भाव, सहिष्णुता र भाइचाराको संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवालालाई सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
सूचनामा सामाजिक उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुग्ने वा कानुनविपरीत गतिविधिमा संलग्न हुने जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
यता, सुरक्षा निकायले जिल्लाका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। स्थानीय प्रशासनले अवस्था सामान्य बनाउन आवश्यक समन्वय र पहल भइरहेको जानकारी दिएको छ।
साउने सोमबार सुनसरीको देवानगञ्ज ३, कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा दुई समूहबीच आईतबार राती विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु २२ जना घाइते भएको छ।






















