सिरहा, २१ कात्तिक। नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत् सेवा अवरुद्ध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्दै प्राविधिक टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखेको प्राधिकरणले जनाएको छ। 

आपूर्ति व्यवस्थापन र प्रणाली निगरानीका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन र प्रादेशिक प्रमुखहरूसँग भर्चुअल बैठक सम्पन्न भएको जनाएको छ। 

बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या आएमा तत्काल मर्मत गर्न, नो–लाइट सेवाका फोन उठाउन र सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिएको छ। यस वर्ष तिहारको लक्ष्मीपूजाका दिन बेलुका विद्युतको अधिकतम माग झण्डै एक हजार सात सय मेगावाट हुने अनुमान छ। 

यो समयमा उत्पादन भने झण्डै २५ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएकाले आन्तरिक माग धान्न स्वदेशी उत्पादन नै पर्याप्त हुने प्राधिकरणले जनाएको छ। यसैबीच, प्राधिकरणले पर्वका समयमा विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न, गुणस्तय सामग्री प्रयोग गर्न र समस्या देखिएमा दक्ष प्राविधिकको मात्र सहयोग लिन उपभोक्ताहरूलाई आग्रह गरेको छ।