सर्लाही, २२ कात्तिक। सर्लाहीको गोडैता नगरपालिका २ जयपुरस्थित जनता आधारभूत विद्यालयमा बालविकासका सहयागी कार्यकता नियुक्ती प्रकृया अपादर्शी भएको विषयमा विवाद उत्पन्न भएको छ। बालविकास सहयोगी कार्यर्ता नियुक्ती प्रकृया विद्यालय प्रशासनले गोप्य रूपमा अघि बढाउन खोजेको भन्दै स्थानीयले प्रश्न उठ्न थालेका हुन्।

विद्यालयमा प्राप्त बालविकास सहयोगी कार्यकर्ता नियुक्ती प्रक्रिया प्रतिस्पर्धात्मक र पारदशी वनाउन सार्वजनिक सूचना प्रकाशन गर्नु पभर्नेमा नगरी भर्ना प्रक्रिया अघि बढएकोे स्थानीयको आरोप छ।

विद्यालयका प्रधानाध्यापक गर्भु महतोले आफूअनुकूल व्यक्तिलाई नियुक्त गर्ने उद्देश्यले लामो बिदाको समय पारेर भर्ना प्रक्रिया अघि बढाएको स्थानीयले आशंका व्यक्त गरेका छन्। भर्नासम्बन्धी सूचना विद्यालयमा सार्वजनिक रूपमा टाँस नगरी सीमित व्यक्तिलाई मात्र जानकारी हुने गरी प्रक्रिया अघि बढाइएको आरोपले विद्यालय प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएको छ।

यस विषयमा स्थानीय सञ्चारकर्मीहरूले प्रधानाध्यापक महतोसँग जिज्ञासा राख्दा उनले सूचना गोप्य राख्ने मनसाय नभएको तर अहिलेसम्म विद्यालयमा सूचना टाँस नगरिएको स्वीकार गरेका थिए। लामो समय विद्यालय बन्द रहने अवधिमा नै भर्ना प्रक्रिया अघि बढाउन खोजिएको र सार्वजनिक रूपमा सूचना किन प्रकाशन नगरिएको होला? भन्ने प्रश्नमा भने उनले आफूलाई निर्दोष देखाउने खालको जवाफ दिएको थिए।

विद्यालयमा बालविकास सहयोगी कार्यकर्ता नियुक्तीको आवेदन खुलाइएको जानकारी पाएपछि आवेदन दिन पुगेका स्थानीय युवा नागेन्द्र महतो आवेदन नदिई फर्किएका छन्। आवेदन खुलाइएको भनिए पनि आफू पुग्दा आवेदन नखुलाइएको प्रधानाध्यापकले बताएपछि फर्किनुपरेको उनले बताए।

यसैबीच, गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादवले भर्ना प्रक्रियाको निष्पक्षता, पारदर्शिता तथा निर्धारित मापदण्डको पालना गर्ने जिम्मेवारी प्रधानाध्यापक र विद्यालय प्रशासनको भएको बताएका छन्। सार्वजनिक सूचना जारी नगरी गरिएको भर्ना प्रक्रिया अवैधानिक हुने र त्यस्तो प्रक्रियालाई मान्य नहुने उनको भनाइ छ। उनले यस विषयमा प्रधानाध्यापक महतोसँग बुझेरमात्र थप केही भन्न सकिने पनि बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु मुखियाले भर्नासम्बन्धी सूचना निकाल्ने विषयमा छलफल भए पनि सूचना प्रकाशन गरिएकोबारे आफूलाई जानकारी नभएको बताए। दीपावली तथा छठ पर्वपछि मात्रै सूचना निकाल्नुपर्ने सल्लाह भएको उनले बताए। तर, प्रधानाध्यापक महतोले विद्यालयमा आफूखुसी निर्णय गर्ने गरेको र आफूलाई जानकारी नदिई विभिन्न गतिविधि सञ्चालन गर्दै आएको आरोपसमेत अध्यक्ष मुखियाले लगाए।

स्थानीय स्रोतका अनुसार दीपावली तथा छठ पर्वको बिदाको मौका पारेर १५ दिनको म्याद राखी विद्यालय बन्द हुनुअघि नै गोप्य रूपमा आवेदन खुलाउने र छठपछि विद्यालय सञ्चालनमा आएलगत्तै पूर्वनिर्धारित उम्मेदवारलाई नियुक्त गर्ने तयारी गरिएको आशंका छ। यद्यपि, यस आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यस विषयमा गोडैता नगरपालिका २ का वडाध्यक्ष अजय साहले आफूलाई भर्ना प्रक्रियाबारे कुनै जानकारी नभएको बताए। विद्यालयमा हुने गतिविधिबारे प्रधानाध्यापकले आफूसँग समन्वयसमेत नगर्ने गरेको उनको भनाइ छ।

शिक्षक नियुक्ति जस्तो सार्वजनिक सरोकारको विषयमा सबै योग्य तथा इच्छुक उम्मेदवारले समान अवसर पाउनुपर्नेमा सूचना सार्वजनिक नगरिएको आरोपले भर्ना प्रक्रियाको निष्पक्षतामाथि आशंका उत्पन्न गरेको छ।