जनकपुरधाम, १३ साउन। सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मधेश प्रदेशको राजधानी जनकपुरधामसहित प्रदेशका आठ वटै जिल्लामा सुरक्षाव्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले समाजिक सद्भाव कायम राख्नका लागि अपिल गर्दै कुनै प्रकारको अप्रिय घटना हुन नदिनका लागि जिल्लाका सदरमुकाम र सहरबजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी नागरिकको सुरक्षा दिँदै आएका छन् ।
सुनसरीमा भएको घटना ध्यानमा राखेर मङ्गलबार जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा जनकपुरधाममा सर्वदलीय सर्वपक्षीय बैठकको सम्पन्न भएको छ।
बैठकले समाजिक सद्भाव कायम राख्ने, अवाञ्छित गतिविधि रोक्ने, समन्वय र सहकार्य गर्नेसहितका विषयमा विभिन्न छ वटा निर्णय गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए। उनका अनुसार बहुभाषिक, बहुजातीय र बहुधार्मिक विशेषतायुक्त सहिष्णु समाजको राष्ट्रिय पहिचानलाई जिल्लाभित्र कायम बनाइराख्नु सबैको साझा दायित्व भएकाले विभिन्न धर्म, जातजाति भाषाभाषी एवम् सम्प्रदायका नागरिकबिच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्ने÷गराउने कार्यमा सबैले आआफ्ना क्षेत्रबाट सहयोग र पहल गर्नेलगायतका निर्णय गरिएको छ ।
बैैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलसहित चार वटै सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र विभिन्न धर्मका धर्म गुरुहरूको सहभागिता रहेको थियो।






















