सिरहा, १२ साउन। सिरहाको सुखीपुर नगरपालिकाको नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डाक्टर लुस्युनकुमार यादवले साउन महिनाको हाजिर एकै पटक गरेको पाएको छ। उनले आजै एकैपटक साउन २८ गतेसम्मको हाजिर हाजिरी रजिस्ट्ररमा गरिसकेको पाइएको हो।
डाक्टर यादव नगर प्रमुख रामऔतार यादवका छोछा हुन्। उनी यस पालिका अन्तर्गत नगर आधाभुत अस्पतालका करारका कर्मचारी भएपनि अस्पताल प्रमुख समेत हुन्।
सरकारी कार्यालयको आधिकारिक हाजिरी रजिस्ट्ररमै उनले एकैपटक साउन २८ सम्मको हस्ताक्षर गरिएको देखिएपछि प्रशासनिक अनुशासन तथा सुशासनमाथि नै प्रश्न उठेको छ।
यस विषयमा प्रतिक्रिया माग्दा डा. लुस्युनकुमार यादवले मिस्टेकले यस्तो हुन गएको भन्दै सामान्य त्रुटि भएको भन्दै थप प्रश्न नसुनि फोन काटे।
घटनाबारे सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवसँग फोन सम्पर्क भएपनि घटनाबारे जानकारी सोधपुछ गर्दागर्दै आफू बाहिर छलफलमा रहेको भन्दै फोन काटे। त्यसपछि उनीसँग पुनः सम्पर्क हुन सकेन।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत जय चन्द्र साहसँग फोन सम्पर्क गर्दा फोन स्वीच अफ बतायो।
छोरालाई जागिर खुवाउनकै लागि नगरप्रमुख यादवले स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नती गरी भर्ना गरेको स्थानीयको आरोप छ। उनी नगर अस्पतालको प्रमुख भएपनि नगरपालिकामा उनकै खटन पटन चल्ने कर्मचारीहरु बताउँछन्।























