सुनसरी, १२ साउन। सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ। अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ। प्रहरी पनि सो क्षेत्रमा तैनाथ छ।

देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आगजनी गरेको हो। उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छन्।

प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन्।

आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। २१ जना घाइते भएका थिए।

घटनापछि स्थीति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन भयो। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु मंगलबार पनि यथावत् छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ। हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु जारी छ।

(अनलाईखबरबाट)