सुनसरी, ११ साउन। सुनसरीको देवानगञ्जमा गए राति दुई समूहबिच भएको झडपमा एक जनाको मृत्यु भएको छ। झडपमा २१ जना घाइते भएका छन्।
देवानगञ्ज गाउँपालिका ३, कप्तानगन्जमा आइतबार राती सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारी गरी २१ जना घाइते भएका छन्।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो।
विवाद झडपमा परीणत भएपिछ पुगेका प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा अश्रुग्यास र हवाई प्रहार गरेको थियो। हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको थियो।
गोली लागेर देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताका मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुई समूहबिच उत्पन्न विवाद झडपमा परिणत हुँदा अवस्था हिंसात्मक बनेको थियो। अवस्थालाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर ८ जना स्थानीय सर्वसाधारण घाइते भएका छन्।
घाइते हुनेहरूमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमित कुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरील जानकारी दिएको छ। २१ वर्षीय रवीन्द्र मेहता, १८ वर्षीय अमित कुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी जवान बुद्धदेव साह र निवेश यादव पनि घाइते भएका हुन्।
त्यस्तै सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन्। स्थानीय दुई समूहको बिचमा भएको झडपमा परेर घाइतेहरू २१ जना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए। अवस्थालाई सामान्य बनाउन अहिले पनि घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ।
अनिश्चितकालीन कफ्र्यु आदेश
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी चार किल्ला तोकेर अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेका हुन्।
कफ्र्यु लागु गरिएका क्षेत्रहरूमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
सीडीओको आदेशअनुसार हरिनगरा बजार क्षेत्र (पूर्वमा नूनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड), भुटाहा बजार क्षेत्र (पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय), तथा कसनागंज बजार क्षेत्र (पूर्वमा यादव टोल, पश्चिममा पाँचौ सिमल मा.वि., उत्तरमा कृष्ण मा.वि. र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र) भित्र कफ्र्यु आदेश जारी भएको हो।
कफ्र्यु लागु भएका क्षेत्रमा आवतजावत तथा भेला हुन नपाइने स्थानीय प्रशासनले जनाएको छ।
त्यस्तै घुस्की बजार क्षेत्र (पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल) र देवानगंज बजार क्षेत्र (पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय) को चार किल्ला भित्र पनि कफ्र्यु आदेश जारी गरिएको छ।
प्रशासनले जारी गरेको आदेशमा कफ्र्यु उल्लङ्घन गर्ने जोकोहीलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिइएको छ।






















