लहान, ९ साउन। उपचारका लागि सिरहाको भगवानपुर गाउँपालिका ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र आएकी आमासँगै आएका करिब चार वर्षीय नाबालकको अस्पताल परिसरमै सर्पदंशका कारणले मृत्यु भएको छ। सर्पदंशका बिरामी नाबालकको उपचारमा ढिलाइ र समयमै एम्बुलेन्स उपलब्ध नगराइएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै पूर्व पश्चिम हुलाकी सडकको भगवानपुर खण्डमा टायर बालेर अबरुद्ध गरेका थिए।

भगवानपुर १ का अरुण मण्डलका छोरा रोशन मण्डललाई स्वास्थ्य केन्द्र परिसरमै सर्पले डसेको थियो। थप उपचारका लागि समयमै रेफर गर्न एम्बुलेन्स उपलब्ध नहुँदा नाबाललको मृत्यु भएको स्थानीयको आरोप छ। स्थानीयले स्वास्थ्य केन्द्र तोडफोडसँगै हुलाकी सडक अबरुद्ध गरेपछि शनिबार दिउँसो करिब साढे १ बजेदेखि गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा पीडित परिवार र स्थानीय अगुवाहरुबिच छलफले दुई लाख ५१ हजार सहयोग गर्ने निर्णय भएको एक कर्मचारीले जानकारी दिए। 

 प्रहरीका अनुसार भगवानपुर ४, कल्याणपुरस्थित माइतीघर आएकी आमा आफ्नो उपचारका लागि स्वास्थ्य केन्द्रमा गएपछि नाबालक पनि आमासँगै गएका थिए। उनका अनुसार भवितव्य भएकोले पीडित परीवारलाई राहत स्वरुप उक्त रकम दिने र तत्काल आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ।

भगवानपुर गाउँपालिकाका पूर्व अध्यक्ष बेचनप्रसाद यादवले आफ्नो ज्यानको सुरक्षाका लागि बिरामी पुग्ने स्वास्थ्य संस्थामै एउटा नाबालकले समयमै उपचार नपाएर ज्यान गुमाउनु दुर्घटना मात्र नभई सम्बन्धित निकायको लापरवाही, कमजोर व्यवस्थापन, सरसफाइको अभाव र सुरक्षा संयन्त्रको गम्भीर असफलता रहेको आरोप लगाए। 

‘जनताको करबाट संचालित अस्पतालमा २४ घण्टा आपत्कालीन सेवा संचालन भइरहेको दाबी गरिन्छ तर अस्पताल परिसर नै विषालु सर्पको जोखिमबाट सुरक्षित छैन भने सेवा र व्यवस्थापनको औचित्यबारे जनताले प्रश्न उठाउनु स्वाभाविक हो’ उनले भने ‘यस्तो दुःखद घटनापछि मौनता होइन, जवाफदेहीता आवश्यक छ।’