मणिलाल विश्वकर्मा
लहान, ७ साउन। सिराहाको नवराजपुर गाउँपालिका ४, नवराजपुर गाउँका ३३ वर्षीय रामशंकर यादवले भाइ श्यामसुन्दर यादवसमेतको सहयोगमा श्रीमती सञ्जनामाथि चरम हिंसा गरेका छन्। आफ्नो साथीसँग मोबाइलमा कुरा गरेको भन्दै उनले मंगलबार राति १० बजेतिर फलामे रड तताएर सञ्जनामाथि निर्घात कुटपिट गरेका हुन्।
घरको झ्यालढोका थुनेर भात पकाउने चुलोमा तताएको फलामे रडले हातखुट्टा र शरीरका विभिन्न भागमा प्रहार गर्नुका साथै रामशंकरले आफ्नो हातखट्टा बाँधेर मुखमा कपडा कोचेर निर्घात कुटपिट गरेको सञ्जनाले बताइन्। घरभित्र झगडा भएको थाहा पाएपछि छिमेकीले ढोका फोडेर तत्काल प्रहरीलाई खबर गरेसँगै उद्धार गरी सञ्जनालाई अस्पताल पुर्याएका थिए। उनको नवराजपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
‘तातेको फलामे रडले कुटपिट मात्र गरेनन्,’ उनले भनिन्, ‘हातखुट्टाको नङ निकाल्न दुईवटा पिलाससमेत राखेका थिए। छिमेकीले ढोका फोडेर उद्धार नगरेको भए सायद ज्यान नै मार्थे होलान्।’ उनका अनुसार श्रीमान्को मोबाइलमा उनकै साथीको पटक–पटक फोन आएपछि उठाएर कुरा गर्दा ‘किन अरूसँग मस्किएर कुरा गरेको’ भन्दै निर्घात कुटपिट गरिएको हो।
गाउँलेका अनुसार आफ्नी आमा गाउँबाहिर रहेका वेला रामशंकरले मावली हजुरबा चन्देश्वर यादव घरमै रहेका वेला फलामे रड तताएर निर्घात कुटपिट गरेका हुन्। उनका बाबु राजिन यादव रोजगारीका लागि साउदी अरबमा छन्। स्थानीय बेचनीदेवीका अनुसार यसअघि पनि पटक–पटक सञ्जनामाथि निर्घात कुटपिट हुँदै आएको थियो। ‘छिमेकीसँग कुराकानी गर्दासमेत किन बोलेको भन्दै निर्घात कुटपिट गर्थे, छिमेकीको घर जानसमेत बन्देज गरिएको थियो,’ उनले भनिन्, ‘एकपल्ट त आँखामा खुर्सानीको धुलो हालेर कुटपिट भएको थियो।’
महिलामाथि निर्घात कुटपिट भएको विषयमा राति करिब साढे १२ बजेतिर खबर पाएलगत्तै प्रहरी टोली पुगेर घटनाबारे सोधपुछ गरिएको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ। प्रहरीका अनुसार गाउँलेले घाइते महिलालाई अस्पताल पुर्याइसकेकाले अस्पतलमा पुगेर घाइते तथा गाउँलेसँग घटना विवरण बुझी रामशंकरलाई पक्राउ गरी महेशपुरपतार प्रहरीमा ल्याएर राखिएको छ। घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै प्रहरीले फरार रहेका देवर श्यामसुन्दरको पनि खोजी गरिरहेको जनाएको छ। स्थानीय गाउँलेका अनुसार रामशंकरकी जेठी श्रीमती पनि त्यसरी नै कुटपिट र यातना सहन नसकेर हिँडेकी थिइन्। जेठी श्रीमतीले छोडेपछि करिब तीन वर्षअघि भारत बिहारको मधुवनी जिल्ला भेलहा गाउँकी सञ्जनासँग दोस्रो विवाह गरेको गाउँलेहरूको भनाइ छ।























