सिरहा, ७ साउन। सिरहा प्रहरीले लहान नगरपालिका ३ बाट ६५२ केजी प्रतिवन्धित लागूऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा लहान नगरपालिका ३ नयाँ बस्ती टोलमा पार्किङ गरी राखिएको बा.२१ च ५६६६ नम्बरको योद्धा पिकअप गाडीमा खानतलासी गर्दा नासपातीको क्रेटभित्र लुकाएर राखिएको उक्त गाँजा बरामद गरेको हो।

प्रहरीले गाजाँ कारोवारमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि लहान नगरपालिका ३ का ३८ वर्षीय श्याम कुमारी साह, भारत बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान ३ बस्ने ४० वर्षीय गौरव महतो र उनको १९ वर्षीय छोरा शिवम साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

उनका अनुसार रोकीएर राखेको गाडीको पछिल्लो भागमा नासपतीका केट पन्छाएर हेर्दा भित्री भागमा ३१ वटा वोर र एउटा प्लाष्टिकको झोलामा गाँजा फेला परेको हो। 

प्रहरीका अनुसार बरामद पदार्थको तौल प्लास्टिकसहित ६६३ केजी तथा प्लास्टिक हटाउँदा ६५२ केजी रहेको प्रहरीले जनाएको छ। गाडीमा रहेका नासपातीका ४६ वटा क्रेट ९९२० केजी समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीले बरामद पिकअप गाडी, गाँजा तथा अन्य सामग्री नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।