सिरहा, २८ असार। सिरहाको गोलबजार नगरपालिका ७ स्थित पुरानो चौक चोहर्वाको पशु हाटबजार परिसरमा बाटो बनाउने क्रममा खनेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। अवास शेखका १२ वर्षिया छोरी सबनम खातुन, १० वर्षिया रुबिना खातुन र ८ वर्षिय छोरा साफुल शेखको उक्त खाल्डोमा डुवेर मृत्यु भएको हो।

रौतहट जिल्लाको झिङ्गहर्वा २ स्थायी घर भई गोलबजार ७ मा लामोसमयदेखि डेरागरी बस्दै आएका थिए। कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतवार करिब दिउँसो २ः३० बजे घरबाट खेल्न निस्किएका थिए।

खेल्ने क्रममा उनीहरू उक्त खाल्डोमा डुवेको स्थानी मनोज महतोले जानकारी दिए। उनीहरु डुवेको जानकारी पाउनसाथ स्थानीयले उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा पुर्याएका थिए। स्वास्थ्यसंस्थाले तीनैजनालाई मृत घोषणा गरेको छ।
प्रहरीले अझै बालबालिका डुवेको हुनसक्ने आशंकामा प्रहरीले दमकलको सहयोगमा उक्त खाल्डोको पानी फालिरहेको छ। शव पोष्टमार्टमको लागि लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ।
बाटो बनाउने क्रममा उक्त त्याहाँबाट माटो ननिकाल्न अनुरोध गरेपनि निर्माण उपभोक्ता समितिले नमानेको स्थानिय मनोज सिंहले जानकारी दिए। उनले भने, ‘हामीले नजीकै गाउँ छन्, अनि बाटो बनाउन सरकारी जमिनबाट माटो नखन भनेको थिएँ। उनीहरुले जवरजस्ती झिके।’
उनीहरुले स्थानीय जनप्रतिनीधीको आडमा जथाभावी खन्ने र प्रयोजन नै नरहेको ठाउँमा बाटो बनाउने गरेको स्थानीको अरोप रहेको छ। उनीहरुले यो बाटोको प्रयोजन नै छैन, व्यक्तिको जमिन प्लठिङ गर्न बाटो निर्माण गरेको आरोपसमेत लगाए।




















