सिरहा, २७ असार। नक्कली किसान र नक्कली बिल खडा गरी कृषि अनुदानमा भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले धनुषामा रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालय प्रमुख सुकेश्वर झासहित चारजनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले झासहित तत्कालीन लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर रामसुदिश शरणविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
झा, ठाकुर र कर्णको मिलेमतोमा निजी माछा फार्मबाट माछाको भुरा खरिद नै नगरी नक्कली बिल बनाएर ७२ लाख ५९ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरेको छ। अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) (ङ) अन्तर्गत जनही ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ। त्यस्तै, सुदिश माछापालन केन्द्रका प्रोप्राइटर रामसुदिश शरणलाई गैरकानुनी लाभ लिने मतियारका रूपमा मुख्य कसुरदारसरह सजायको माग गर्दै सोहीबराबरको बिगो असुलउपर गर्न माँग गरिएको आयोगका प्रवक्ता न्यौपानेले बताए।
आयोगका अनुसार कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम (राहत)अन्तर्गत मत्स्य भुरा वितरणका लागि दुई करोड ३४ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, निजी माछा फर्मबाट भुरा खरिद नै नगरी खरिद गरेको देखाउँदै नक्कली बिल तयार गरिएको, वास्तविक रूपमा भुरा वितरण नगरी कृषकहरूको नक्कली नाम, ठेगाना र सहीछाप तयार गरी कृषि कार्यालय धनुषाले आर्थिक वर्ष ०७४÷७५ मा ७२ लाख ५९ हजार ९० रुपैयाँ भुक्तानी गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ।




















